शैक्षिक सुधारमा समर्पित व्लग

 


महामारीमा विद्यालय सञ्चालनको आधार

 महामारीमा विद्यालय सञ्चालनको आधार

गोविन्द भट्टराई

१४ जेष्ठ, २०७८

शैक्षिक सत्र २०७६ को उत्तरार्धमा आइपुग्दा विश्वव्यापी कोरोना संक्रमणका कारण विद्यालय तथा विश्वविद्यालयका नियमित परीक्षाहरु प्रभावित बने । लामो समय सम्म देश बन्दाबन्दीमा जाँदा धेरै परीक्षाका कार्यक्रमहरु ढिला गरेर सञ्चालन भए भने कतिपय परीक्षाहरु स्वरुप परिवर्तन गरी सञ्चालनमा ल्याइयो । जसो तसो शैक्षिक सत्र पूरा भयो ।

शैक्षिक सत्र कोरोना महामारीका कारण लामो समयसम्म शुरुहुन सकेन । औपचारिकरुपमा शिक्षा मन्त्रालयले वैकल्पिक विधि र पद्धति प्रयोगमा सुझाए पनि यसको खासै राम्रो प्रयोग हुन सकेन । कोरोनाको पहिलो लहर मथ्थर हुन लाई धेरै लामो समय लाग्यो । लगभग शैक्षिक सत्रको मध्य तिर आइपुग्दा शिक्षा मन्त्रालयले शैक्षिक सत्रको अवधि लम्ब्यायो र स्वास्थ्य सतर्कताका साथ विद्यालयहरु खुले ।

विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालयहरु सञ्चालन भएको करिव तीन महिना पनि बितेको थिएन । फेरी कोभिड १९ को दोस्रो लहरको चपेटामा विद्यालय तथा विश्वविद्यालयहरु परे । दोस्रो लहर यति संक्रामक भएर निस्कियो कि अहिले यसको नियन्त्रण गर्न राज्य व्यवस्थालाई हम्मे हम्मे छ ।

देश पुनः निषेधाज्ञामा छ । सबै विद्यालय तथा विश्वविद्यालयहरु बन्द छन् । पठनपाठन तथा पूर्वनिर्धारित परीक्षाहरु स्थगित भए सँगै शिक्षा क्षेत्रमा अन्योलता कायम भएको छ । यसको मारमा सबैभन्दा धेरै विद्यार्थीहरु परेका छन् ।

एका तर्फ कति बेला कोभिड १९ बाट संक्रमित भइएला भन्ने त्रास छ भने अर्को तर्फ अब कसरी पढाइ पूरा होला भन्ने पीर छ । यस्तो अवस्थाबाट गुज्रीरहँदा अबको शैक्षिक विकल्पका बारेमा बहस र छलफल हुने गरे पनि कुनै निश्चित विकल्पको प्रयोगका विषयमा अझै पनि अन्योल नै छ ।  

पहिलो पटकको महामारीका समयमा त पूर्वतयारी नभएका कारण प्रयासका बावजुद वैकल्पिक पद्धतिलाई राम्ररी कार्यान्वयन गर्न सकिएन । तर करिव एक बर्ष पछि आएको दोस्रो लहरको महामारीका बेला पनि पहिले कै अवस्थाबाट अगाडी बढ्न नसक्नु दुर्भाग्यपूर्ण छ ।

अहिले पनि गत शैक्षिक सत्रमा जस्तै कसरी स्थगित भएका पूर्वनिर्धारित परीक्षाहरुलाई सञ्चालन गर्ने र खासगरी विद्यालय तहमा वार्षिक नतिजा प्रकाशन गरी औपचारिक रुपमा शैक्षिक बर्ष २०७७ पूरा गर्ने विषयमा चिन्तन र मनन भएको पाइन्छ । यो अहिलेको तत्कालीन आवश्यकता हो ।

यसरी नै गत बर्ष पनि तत्कालिक आवश्यकतामा केन्द्रित भएर समस्या समाधान गरिएको थियो । त्यतिबेला नै भविश्यमा महामारी बढ्ने कुराको आँकलन गरेर दीर्घकालीन सोच बनाएको भए न अहिले परीक्षा सञ्चालनमा समस्या आउँथ्यो न कक्षा सञ्चालनमा । त्यसैले अबको बहस तत्कालीन समस्याको गाँठो फुकाउनमा मात्र सिमित नगरी यो र यस्तै आइपर्ने र आइपर्न सक्ने महामारीका बीच कसरी विद्यालय तथा विश्वविद्यालयहरु सञ्चालन गर्न सकिन्छ भन्नेमा हुनु पर्दछ ।

हुनत महामारीमा ज्यान जोगाउने हो, अन्य कुरा हुँदै जान्छन् भन्ने मत पनि नपाइने गरेको हैन । यसो भनिरहँदा यदि महामारीले लामो समय लियो भने के सबै क्षेत्र क्षतविक्षत बनेको टुलुटुलु हेरिरहने त भन्ने प्रश्न पक्कै उठ्छ । तसर्थ हामीले सचेततापूर्वक हाम्रा दैनिकीलाई निरन्तरता दिनुको कुनै विकल्प छैन । अहिलेको विषम परिस्थितिमा शैक्षिक कार्यक्रमहरुलाई नियमित सुचारु गर्न शिक्षालयहरुको सामर्थ्य र परिवेश अनुकुल वैकल्पिक विधि र पद्धतिको प्रयोग गरिनुपर्दछ ।

वैकल्पिक पद्‍दतिको कुरा उठान गर्दै गर्दा गत बर्ष प्रयोगमा ल्याइएका केहि उपायहरुको स्मरण गर्नु उपयुक्त होला । विद्यालय तहको एस.इ.इ. परीक्षाका लागि सम्बन्धित विद्यालयहरुलाई नै आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्न लगाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गर्ने कार्य गरेको थियो । कक्षा १२ को परीक्षा भने आन्तरिक मूल्याङ्कन तथा सम्बन्धित विद्यालयमा नै केन्द्र कायम गरी छोट्याएर लिइएको थियो । यसरी लिइएका परीक्षामा एस.इ.इ. तहमा गरिएको मूल्यङ्कन आलोचनाबाट अछुतो रहन सकेन । नयाँ शैक्षिक सत्र शुरु भए पश्चात विद्यालय तथा विश्विवद्यालयहरुमा वैकल्पिक शिक्षण अन्तरगत भर्चुअल अर्थात अनलाइन कक्षाहरुको अभ्यास पनि गरियो । प्रविधि तथा दक्ष जनशक्तिको अभावमा केहि थोरै मात्र यो विधिको प्रयोगबाट पठनपाठनको कार्य भयो  र विशेषगरी शहर केन्द्रित विद्यालयहरुले यसको प्रयोग गरे । प्रयोगमा ल्याइए पनि यसमा सतप्रतिशत विद्यार्थी सहभागिता कायम गर्न सकिएन ।

ग्रामिण क्षेत्रका बहुसंख्यक विद्यालयहरु प्रविधि र जनशक्तिको अभावमा अनलाइन कक्षा सञ्चालन गर्न असमर्थ रहे । ती विद्यालयहरुमा वैकल्पिक रुपमा घुम्ती कक्षाहरु सञ्चालनमा ल्याइयो । टोल टोलमा सिकाइ केन्द्र स्थापना गरेर हप्तामा तीन दिन जति विद्यार्थीहरुलाई पालो गरेर सिकाइका लागि प्रयासहरु भए । दुर्गम क्षेत्रका धेरै ठाउँमा विद्यालयहरु बन्द नै रहे भने कतिपय ठाउँमा विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षाहरु आंसिकरुपमा संचालन भए ।

वैकल्पिक कक्षाहरु सञ्चालन गर्दै गर्दा सबैको ध्यान भने विद्यालयका कक्षाकोठामा नै पुग्न गयो । अर्थात् वैकल्पिक सिकाइ केन्द्रबाट हुने सिकाइलाई त्यति महत्वका साथ हेरिएन र विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालयमा नै हुने पठनपाठनको व्यग्र प्रतिक्षा गरियो जसले गर्दा वैकल्पिक कक्षाका लागि नयाँ नयाँ विधि र रणनीति अबलम्वन गर्न तर्फ हाम्रो ध्यान गएन । जब महामारीको ग्राफ घट्यो अनि विद्यालयहरु खुले । त्यसपश्चात विद्यालयीय कृयाकलापले निरन्तरता पायो ।

कठिन समयमा विकल्पहरु आवश्यक हुँदो रहेछ भन्ने शिक्षा त प्राप्त भयो तर यसको लागि आवश्यक तयारी गर्न सकिएन । प्रयोगमा ल्याइएका उपायहरुलाई भविश्यमा आइपरेको खण्डमा अझ सशक्त बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार विकासका कार्य सरोकारवाला निकायहरुबाट हुनु जरुरी थियो । तर सो हुन नसकेकै कारण अहिले फेरी उहि समस्याको पुनरावृत्ति भएको छ ।

विगतमा यो भएन र त्यो भएन भन्नु भन्दा पनि के कारणले हुन सकेन भनेर मनन गर्नु जरुरी छ । हाम्रा प्रयासहरु अल्पकालीन समस्या समाधानमा केन्द्रित हुँदा उहि समस्या पटक पटक बेहोरीरहनु परेको अवस्थालाई मध्यनजर गरी अब आगामी शैक्षिक सत्र शुरुवाती अवस्था बाट नै सुचारु गर्ने तवर बाट तयारी गर्नु पर्दछ । यसका लागि ठाउँ र परिवेश अनुकुलको वैकल्पिक उपाय अबलम्वन गर्नु पर्दछ ।

अहिलेको विकल्प सबैको मुखबाट भर्चुअल शिक्षा हो भनेर सुनिरहँदा यसलाई मुख्य लक्ष निर्धारण गरी भर्चुअल माध्यमबाट सिकाइ सञ्चालन गर्न सक्ने पूर्वाधार भएका ठाउँमा तत्काल कार्यान्वयन गर्ने र नभएका स्थानहरुमा यसका लागि पूर्वाधार विकासमा लाग्नु पर्दछ । संभव नै नभएका स्थानमा भने खुला शिक्षा एउटा माध्यम बन्न सक्दछ । आवश्यक पूर्वाधार विकासका लागि सरकारी सम्यन्त्र राजी हुने र विद्यालयहरुले कार्यान्वयनका लागि इच्छाशक्ति देखाउने हो भने कुनै पनि विधि र पद्धतिबाट शिक्षालयहरुलाई नियमित रुपमा सञ्चालनमा ल्याउन कठिनाइ हुँदैन ।

विद्यालय सञ्चालनको सारथी शिक्षक हो । वैकल्पिक विधिको कार्यान्वयनका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । हामीसँग उपलब्ध शिक्षकहरुलाई सरसर्ती हेर्दा सबै शिक्षकहरु आधुनिक सिकाइ पद्धति सँग परिचित हुन सकिरहेको अवस्था छैन । मैले यो कुरा उल्लेख गरिरहँदा कुनै शिक्षकलाई आक्षेप लगाउन खोजेको होइन । म पनि एक शिक्षक नै हुँ । मलाई पनि आधुनिक सिकाइ प्रणालीको बारेमा ज्ञान र सीपको आवश्यकता छ । तर पनि मेरो इच्छाशक्तिका बावजुद मैले अवसर प्राप्त गर्न सकिरहेको छैन ।

बन्दाबन्दीको समय छ । विद्यालयहरु बन्द छन् । कोभिड परास्त गर्न घर मै सिमित हुनु परेको छ । दिन तथा रातहरु एकदमै लामो लाग्न थालेको छ । यो अवस्थामा हामी शिक्षकहरुलाई समय व्यतित गर्न नै पनि गार्हो परेको छ । अर्थात् फूर्सदको समय छ । यो समयलाई आधुनिक शिक्षण पद्धतिको प्रयोगमा आवश्यक पर्ने ज्ञान तथा सीप सिकाइमा प्रयोग गर्न पाए पक्कै पनि हामीले राखेको भर्चुअल कक्षा को लक्षमा पुग्न सजिलो हुन्थ्यो होला ।

विद्यालयहरुमा थोरै मात्रामा भए पनि केहि थान कम्प्युटर तथा ल्यापटपहरु छन् । हाइ स्पीडको नभए पनि धेरै जसोमा इन्टरनेटको सुविधा पनि छ । तर विद्यालयहरुले यसको समुचित प्रयोगमा त्यति ध्यान दिए जस्तो लाग्दैन । कमसेकम तिनीहरुको प्रयोगबाट सबै विद्यार्थीहरुलाई सिकाइका लागि तत्काल सहभागी गराउन नसके पनि भविश्यमा पूर्वाधार विकास भए पश्चात शिक्षकलाई सहजरुपमा यसको प्रयोग गर्न सक्ने बनाउनका लागि अहिलेलाई प्रयोगमा ल्याउन नसकिने होइन । अर्थात् विद्यालयमा उपलब्ध पूर्वाधारको प्रयोग गरेर शिक्षकलाई आइसिटि मा आधारित तालिम दिन सकिन्छ । शिक्षकमा भएका सीपहरु एक अर्कामा साटासाट गर्ने अवसरहरु सृजना गर्न सकिन्छ । यो कार्य विद्यालयको एकल प्रयासमा पनि हुन सक्दछ ।

स्थानीय सरकारहरुले सूचना तथा सीपको आदान प्रदानको कार्यमा विद्यालयहरु बीच सहजीकरण गरिदिने हो भने पनि आगामी शैक्षिक बर्षको तयारीका लागि सहयोग पुग्ने देखिन्छ । तर अधिकांश पालिकाहरुमा यस सम्बन्धी विषयले प्रवेश नै पाएको पाइन्न । शैक्षिक विकासको जिम्मेवारी प्राप्त निकायहरुले अब शिक्षकको वृत्ति विकासमा ध्यान दिनै पर्दछ ताकि विषम परिस्थितिमा पनि प्रविधिको प्रयोग गरी सिकाइलाई निरन्तरता दिन सकियोस् ।

विद्यालयमा आधुनिक प्रविधिको उपलब्धता, प्रयोगको अवसर, तालिम र शिक्षकलाई कोभिड विरुद्धको खोप को सुनिश्चितता अहिलेको अवस्थामा विद्यालय सञ्चालनका मुख्य आधार हुन् । अझ पनि नयाँ शैक्षिक सत्र शुरु हुन केहि दिन बाँकी छ । सम्बन्धित पक्षको बेलैमा ध्यान जाओस् ।

(भट्टराई होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. भानु २, तनहुँका शिक्षक हुन्)

यो पनि पढ्नुहोस् 

  

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget