शैक्षिक सुधारमा समर्पित व्लग

 


महामारीको मारमा शिक्षक

महामारीको मारमा शिक्षक

"हेर हेर! क्या मजा छ है माष्टर सापहरुलाई । विद्यालय बन्द छ, पढाउनु सडाउनु परेको छैन, घरमै बस्यो तलव खायो ।"

"हैन लेखेरै ल्या रैचन् त गाँठे भाग्गेमा । जागिर होस् त शिक्षकको जस्तो ।"

यी केहि प्रतिनिधि आवाजहरु मात्र हुन् । यी र यस्तै प्रकृतिका प्रतिकृयाहरु सुन्न पाइन्छ अचेल विशेष गरी चिया पसलहरुमा । हुन पनि सतहबाट हेर्दा यस्तै लाग्दो हो धेरैलाई । किनकि वास्तविकता बुझ्न परिस्थितिको आँकलन लागि गहिरिएर अध्ययन गर्नु पर्ने हुन्छ ।

कोभिड महामारीका कारण सबै क्षेत्र नराम्ररी प्रभावित छन् । नियमितरुपमा कुनै पनि कार्य हुन सकिरहेको छैन । यसको अशर विद्यालयहरुमा पर्दा विद्यालयहरु नियमित सुचारु हुन नसक्नु नै यस्ता किसिमका प्रतिकृया जन्मिनुको मुख्य कारण हो जस्तो लाग्छ ।

अर्का तर्फ विद्यालय सञ्चालनमा शिक्षकको भूमिका के हो ? शिक्षकले के गर्न सक्दछन् ? शिक्षक परिचालनको प्रमुख दायित्व कसको हो ? भन्ने विषयको उठान नगरी शिक्षकले काम गरेनन् बसी बसी तलव भत्ता मात्र खाए भनेर सोच्नु र भन्नु कत्तिको युक्तिसंगत होला र ।

विद्यालय बन्द शिक्षकले गर्दा भएका होइनन् । शिक्षक शिक्षणमा प्रतिवद्ध छन् । तर अहिले महामारीका समयमा उनीहरुले शिक्षणको अवशर प्राप्त गर्न सकिरहेका छैनन् भनेर बुझ्नु उपयुक्त हुन्छ ।

सामाजिक दूरी कायम गर्नै पर्ने यो बाध्यात्मक अवस्थामा वैकल्पिक शिक्षण पद्धति कार्यान्वयन हुनु जरुरी छ । तर अहिले सम्म पनि नियामक निकायहरुबाट कुनै ठोस निर्णय हुन नसक्दा र यसको प्रयोगका लागि आवश्यक पूर्वाधारको विकास हुन नसक्दा नचाहँदा नचाहँदै विद्यालय सुचारु गर्न सकिएको छैन ।

विद्यालयले लगाएको काम हामी शिक्षकहरुले निरन्तर गर्दै आएका छौं । अनलाइन पढाउने हो कि भन्ने आवाज उठ्यो । हामीले प्रयास गर्यौं । तर विद्यार्थी सहभागीता अत्यान्तै न्यून रह्यो । त्यसपछि अफलाइन सामग्री निर्माण गरियो र सामाजिक सञ्जाल मार्फत विद्यार्थीको पहुँचमा पुर्याउने चेष्टा गरियो । यसमा पनि अत्यान्तै न्यून सहभागीता पाइयो । यति भइसके पछि घरमा समाग्री निर्माण गरी विद्यार्थीहरुलाई घरघरमा लगेर बाँडियो । केहि दिन विद्यार्थीहरुबाट राम्रै प्रतिकृया प्राप्त भएको थियो । तर यो वैकल्पिक व्यवस्था त्यति पत्यारिलो भएन वा हामीले बनाउन सकेनौं ।

संक्रमण बढ्दै जाँदा घरघरमा गएर सामग्री बाँड्ने कार्य जोखिमपूर्ण महशुस भयो । त्यसपश्चात् टोलटोलमा गएर विद्यार्थीहरुको भौतिक उपस्थितिमा सिकाइ सञ्चालन गरियो । तर जे जसरी हामीले प्रयाश गरेका थियौं, यसमा सबैको साथ र सहयोग प्राप्त गर्न सकिएन । हामीले बुझाउन सकेनौं वा हाम्रो कार्यको नजरअन्दाज गरियो । सबैको ध्याउन्न महामारी कम भए पछि विद्यालयमै हुने सिकाइमा केन्द्रित हुन गयो ।

विद्यालयहरु खुले हामी शिक्षकहरुले नियमित रुपमा सिकाइ सञ्चालन गर्यौं । फेरी कोभिड महामारीले विद्यालय बन्द भए र वार्षिक परीक्षा आन्तरिक मूल्याङ्कनबाट तयार गर्ने कुरा आयो । हामी अहिले निषेधाज्ञा पनि नभनेर नियमित विद्यालयमा गएर नतिजा प्रकाशनको कार्यमा व्यस्त नै छौं ।

महामारीका कारण कैयौं शिक्षकहरु संक्रमित हुनु भएको छ । कैयौं दिवंगत हुनु भएको छ । विद्यालय जस्तो संवेदनशील क्षेत्रमा अहोरात्र खटिने हामी शिक्षकहरुलाई राज्यले बेवास्ता गरेको छ । कोभिड विरुद्धको खोपका लागि हामीले गरेको अनुनय विनयको धज्जी उठाइएको छ । हाम्रा जायज मागहरुलाई नजरअन्दाज गरिएको छ । तथापि हामी हाम्रो कर्तव्य र दायित्वमा  सदैव जिम्मेवार छौं र रहनेछौं ।


विपदका बेला पूरा गर्नु पर्ने नागरिक दायित्वका लागि जुनसुकै मुल्य चुकाउन हामी शिक्षकहरु तयार छौं । तर हामीले सहजरुपमा काम गर्न पाएका छैनौं । आगामी शैक्षिक सत्रमा पनि अहिले कै जस्तो विद्यालय बन्द हुने अवस्था आए हामी शिक्षकहरुमाथि नै कमजोरी थोपरेर आफू पानी माथिको ओभानो हुने अवस्था देखापर्न सक्छ भन्ने कुरामा हामी सचेत छौं । तर पनि हामी के गर्न सक्छौं ?

केहि शिक्षकका पेसागत सँघ संगठनहरुले विगतमा शिक्षकको वृत्तिविकासमा सहयोगी तालिमहरुको आयोजना गरेका थिए । यसबाट केहि न केहि सिक्ने अवसर प्राप्त गरियो । ती सँघ संगठनहरुलाई हामी शिक्षकहरु धन्यवाद ज्ञापन गर्न चाहन्छौं । यस्ता कार्यक्रमले निरन्तरता पाउन् ताकि बढि भन्दा बढि शिक्षकहरुलाई समेट्न सकियोस् ।

अबको अवस्थामा पालिकाहरुले सबै शिक्षकको वृत्ति विकासमा विद्यालयसँग समन्वय गरी आवश्यकताका आधारमा तालिम सञ्चालन गरिदिए हामीले आलोचनाको सिकार हुनु पर्ने थिएन ।

विद्यालयहरुले पनि आधुनिक प्रविधिको विकासलाई प्राथमिकतामा राखेर कार्य गरिदिने हो भने निरन्तर सिकाइ वातावरण निर्माणका लागि सहज हुने थियो ।

तसर्थ सम्पूर्ण शिक्षकहरुलाई वैकल्पिक शिक्षणका लागि आवश्यक ज्ञान, सीप र अभिवृत्ति विकासका लागि तत्काल अवसरहरु सृजना गरियोस् ।

कोभिड विरुद्धको खोप शिक्षकका लागि प्राथमिकतामा राखियोस् । यो हामीले हाम्रो सुरक्षाका लागि राखेको माग हैन । स्मरण रहोस्, हामी सुरक्षित हुनु भनेको बालबालिका सुरक्षित हुनु हो ।

(गोविन्द भट्टराई, शिक्षक होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. भानु २ तनहुँ)

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget