शैक्षिक सुधारमा समर्पित व्लग

 


चासो नयाँ शैक्षिक सत्रको

चासो नयाँ शैक्षिक सत्रको 

गोविन्द भट्टराई 
२२ जेठ, २०७८ 
विद्यालय शिक्षा अन्तरगत शैक्षिक वर्ष २०७७ पूर्णरुपमा प्रभावित बन्यो । महामारीमा कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा राज्यले लामो समय सम्म पनि चिन्तन मनन गर्न नसक्दा र कुनै वैकल्पिक उपाय अवलम्बन गर्ने निर्णय नहुँदा शैक्षिक सत्र नै ढिला गरेर शुरु भयो । 

  
अघिल्लो शैक्षिक सत्रका पूर्वनिर्धारित परीक्षाहरु सहज ढङ्गबाट सञ्चालन गर्ने अवस्था नहुँदा परीक्षाहरु वैकल्पिक माध्यमबाट ढिला गरेर सम्पन्न भएका थिए । पहिलो लहरको समाप्ति सँगै परम्परागत भौतिक उपस्थितिमा विद्यालयहरु सञ्चालन भए र नियमित पठनपाठन गरियो । यस विचमा देशमा देखापरेको राजनीतिक विचलन र विवादले सरोकारवालाको ध्यान राज्य सत्ता र शक्तिमा केन्द्रित हुँदा संभावित जोखिम न्यूनीकरण गर्दै विषय परिस्थितिमा पनि कसरी निरन्तर सिकाइ सञ्चालन गर्ने भन्ने विषयमा खासै तयारी भएन । परिणामतः जब २०७८ वैसाखमा कोभिड १९ को दोस्रो महामारीले उग्ररुप लियो, विद्यालयहरु पुनः प्रभावित बने र नियमित कार्य बन्द भयो । 
विद्यालयका नियामक निकायहरुले आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा १० सम्मको वार्षिक नतिजा प्रकाशन गरी आगामी आसाढ बाट नयाँ शैक्षिक सत्रको शुरुवात गर्नु पर्ने निर्देशन दिए पश्चात अहिले विद्यालयहरु नतिजा प्रकाशनमा व्यस्त छन् । अबको केहि दिनमा अर्थात् २०७८ जेठ महिना भित्र विद्यालयहरुले नतिजा प्रकाशन गरी विद्यार्थीहरुलाई कक्षोन्नती गर्दै औपचारिकरुपमा शैक्षिक सत्र २०७७ सम्पन्न गर्दैछन् । 
स्वभावतः एक शैक्षिक सत्रको समाप्ति सँगै अर्को शैक्षिक सत्र शुरु हुन्छ । शुरु गर्न खासै मेहनेत पनि गर्नु पर्ने देखिन्न । विद्यालयले भर्ना अवधि तोक्छ अनि अभिभावकहरुले आफ्ना नानीबाबुहरुलाई विद्यालयमा भर्ना गरिदिन्छन् । तर नयाँ भर्ना हुने विद्यार्थीहरुले के कसरी सिकाइलाई निरन्तरता दिने अवसर प्राप्त गर्दछन् भन्ने कुरा चैं अहिले आएर पेचिलो बन्दै गएको छ । 
आज सम्म भएको अवस्था विषम परिस्थितिको उपजका रुपमा लिन सकिएला । भलै पहिलो लहर पश्चात आवश्यक तयारी गर्न सकेको भए यो अवस्था पक्कै आउने थिएन । तथापि अब यो भएन र त्यो भएन भनेर रुझान गर्नुको कुनै तुक छैन । अबको कोर्ष आगामी शैक्षिक सत्रलाई कसरी सिकाइमैत्री बनाउने भन्नेमा केन्द्रित हुनु पर्दछ । 
खासगरी संघियता लागू भए सँगै विद्यालयहरुको स्वमित्व ग्रहण गर्नका लागि तँछाड मछाड गर्ने स्थानीय तहमा यव विषयमा विचार विमर्ष गहन छलफल तथा योजना तर्जुमा हुनु पर्ने हो । तर विडम्बना धेरै पालिकाहरुको ध्यान यो विषयमा केन्द्रित भएको पाइएको छैन । कतिपयमा त यो विषय उठान सम्म हुन सकेको छैन ।  
विद्यालयलाई ऐन नियम कानुन बमोजिम सहि दिशा प्रदान गर्दै विद्यालयलाई नियमितरुपमा सञ्चालनको मुख्य जिम्मेवारी पाएको सरोकारवालको प्रतिनिधि सँस्था विद्यालय व्यवस्थापन समितिले यो विषयमा कुनै योजना तर्जुमा गर्न सकेको छैन । समग्र विद्यालयीय गतिविधिलाई नजिकबाट नियाल्दै यसको समुन्नती र विकासका लागि पहरेदारी भूमिका निर्वाह गर्नु पर्ने निकाय शिक्षक अभिभावक सँघ प्रायः यो मुद्दामा बेखबर नै छ । विद्यालयको प्रशासनिक बागडोर सम्हालेका प्रधानाध्यापकहरुले समेत यो विषयमा खास चिन्तन गरेको अवस्था छैन । विषम परिस्थितिमा पनि कसरी निरन्तर सिकाइ गर्न सकिन्छ भन्ने विषयमा शिक्षकहरुको जति लगाव हुनु पर्ने हो त्यसमा केहि कमि भएको हो कि भन्ने आभास हुन थालेको छ । 
मैले यो मुद्दा उठाइरहँदा कोहि कसैलाई आक्षेप लगाउन भने खोजेको हैन । तथापि प्रश्नहरु जिम्मेवार निकायप्रति नै तेर्सिने गर्दछन् । मेरो उद्देश्य कोभिड १९ को बदलिँदो स्वरुपमा र चरणबद्ध महामारीका संकेतका विच कसरी सुरक्षित ढङ्गबाट निरन्तर सिकाइ गर्न सकिन्छ भन्ने वैकल्पिक उपायको खोजी गर्नु नै हो । 
विकल्पहरु धेरै छन् । प्रयोगमा ल्याउन सकिन्छ । तर यसका लागि ठोस योजनाको आवश्यकता पर्दछ । हुनतः योजना मात्र भएर कार्यान्वयन पुग्दैन । यसका लागि विद्यालयहरुले व्यापक तयारी गर्नु पर्दछ । अबको शैक्षिक यात्रा प्रविधिमा आधारित शिक्षण सिकाइले मात्र संभव छ भन्ने कुरा यो विषम परिस्थितिले देखाइसकेको छ ।  
प्रविधिको विकासका लागि विद्यालयको विद्यमान अवस्था के हो र अब के गर्नु पर्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित हुनु पर्दछ ताकि विद्यार्थीहरुलाई आगामी नयाँ शैक्षिक वर्षमा जस्तो सुकै परिस्थितिमा पनि निरन्तर सिकाइ सुनिश्चित गर्न सकियोस् । 
(भट्टराई, भानु नगरपालिका २ स्थित हो.रा.लो.शा.शि.स. मा.वि. का शिक्षक हुन्)

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget