शैक्षिक सुधारमा समर्पित व्लग

 


म एक शिक्षक

 म एक शिक्षक

गोविन्द भट्टराई

हो, म एक शिक्षक हुँ । म विद्यालयमा विद्यार्थीहरुलाई पठनपाठनको कार्यमा सहजीकरण गर्दछु । हामी शिक्षकका काम एकै भए पनि हाम्रा रुप भने भिन्न भिन्न छन् । हामी कति स्थायी छौं, अस्थायी छौं, करार छौं, राहत छौं, सट्टा छौं, नीजि स्रोतका छौं अनि यस्तै यस्तै विभिन्न प्रकारका सहयोगी कार्यकर्ता, सहजकर्ता, शिक्षण स्वयंसेवक कत्ति कत्ति ।

राजनीतिक परिस्थिति बदलिँदै जाँदा, प्रणालीमा उथलपुथल हुँदै जाँदा यि र यस्तै धेरै प्रकारका हामी जन्मिन पुग्यौं र यो क्रम अहिले पनि रोकिएको छैन । जे होस् हामी जसरी जन्मिए पनि, हाम्रो जन्म प्राकृतिक अप्राकृतिक जे भए पनि हामी सबै शिक्षक हौं । स्मरण रहोस्, हामी आफैं जन्मिएका हैनौं । हामीलाई जन्माइएको हो । यसमा हाम्रो के दोष ! हामी त शिक्षणका लागि सदैब कटिवद्ध छौं ।

कामको स्वरुप एकै भए पनि हाम्रो कार्य क्षेत्र पृथक छ । हामी कोहि सरकारी अनुदान प्राप्त  विद्यालयमा कार्यरत छौं त कोहि नीजि कम्पनी या  सार्वजनीक गुठी द्वारा सञ्चालित विद्यालयहरुमा । जे होस् हाम्रो कार्यको प्रकृति एक भए पनि हामी आफैंमा अनेक छौं ।

हाम्रीलाई नेपाली पहिचान अनेकतामा एकताले त्यति काम गर्दैन । हामीमा 'एक मा अनेकता' विद्यमान छ । यहि अनेकताका विच हाम्रा पीर, व्यथा र दुःख अनेक हुनु अनौठो होइन । आ-आफ्ना समस्या हामी सबैका छन् । तर विडम्बना, हाम्रा समस्याहरु यति जटिल छन् कि एउटाकोले अर्काका लाई संवोधन कतिपय अवस्थामा गर्दैनन् । खैर, हामी मध्ये कसैका पनि समस्याले ठोसरुपमा दीर्घकालीन समाधान पाएका छैनन् । लामो समयदेखि शिक्षकका मुद्दाहरु उठाइएका भए पनि हाल सम्म पनि सबै समाधान गर्न नसकिएको तीतो यथार्थ हामी सामु छ ।


शिक्षकको हक हितको संवर्धन र सुरक्षणका लागि स्थापित विभिन्न सँघ संस्थाहरुले शिक्षकका अधिकार संरक्षणमा खेलेको भूमिका पछिल्लो समयमा निकै नै फितलो भएको भनेर आलोचना हुन थालेको छ । खासगरी शिक्षकका सँघ संगठनहरु राजनीतिक दलका पिछलग्गु भएको र सशक्त रुपमा शिक्षकका आवाज बुलन्द गर्न नसकेको भनेर चारैतर्फ विरोध हुन थालेको छ । शिक्षक हक, हित र संरक्षणका मुद्दा बोकेर हिड्नु पर्ने शिक्षक नेतृत्व दलिय राजनीति बाट अछुतो रहन नसकेको र अब शिक्षकका मुद्दाहरु सहिरुपमा बुलन्द गरी अधिकारको सुनिश्चितताका लागि स्वतन्त्र शिक्षकहरुको संञ्जालको नेतृत्वमा आन्दोलन गर्नुको विकल्प छैन भन्ने विषय अहिले शिक्षकवृत्तमा बहसको विषय बनेको छ ।

मेरो आँखाले पनि यस्तै यस्तै नै नियाल्दै छ । वास्तवमा राज्यले हामी शिक्षकहरु प्रति सदियौं देखि विभेदकारी नीति अबलम्वन गरेको छ । शिक्षक सँघ संगठनको स्थापनाकाल देखि नै सम्पूर्ण राष्ट्रसेवक सरह समान र सम्मानजनक हैसियत कायम गर्न आवाज उठेको भए पनि आज सम्म आइपुग्दा पनि यसको प्रत्याभूति हुन सकेको छैन । बरु विभेदको ग्राफ दिनदिनै बढ्दै गएको छ । शिक्षक हक हितको मुख्य एजेण्डा बनाएर हिँडेका संघ संगठनहरु विभिन्न परिस्थितिमा कहिले समर्थन र कहिले विरोध गर्दै हिँडेका उदाहरणहरु धेरै छन् । आफ्नो पक्षको सरकारमा आउँदा नरम हुने र अर्को पक्षको आउँदा विरोध गर्ने प्रवृत्ति नदेखिएको होइन । आफ्नो पक्षबाट भएको विभेदलाई परिस्थितिको उपजका रुपमा बुझ्ने मात्र नभई बुझाउन पनि उद्दत हुने प्रवृत्तिले गर्दा शिक्षकहरुका पेसागत सँघ संगठनहरु विच कहिल्यै मत्येक्यता हुन सकेन । राम्रालाई भन्दा हाम्रालाई प्राथमिकतामा राख्ने प्रवृत्ति हावि हुँदा विभिन्न किसिमका शिक्षकहरु जन्माइयो । शिक्षण पेसामा प्रवेशको मार्ग एउटै भएन । जसले गर्दा शिक्षक शिक्षक विच समेत राम्रो सम्बन्ध स्थापित हुन सकेन । यसविचमा कृयाशील संघ संगठनहरुले पनि तटस्थ भएर शिक्षक हक हितका लागि आफूलाई उभ्याउन सकेनन् र अहिले आलोचनाको सिकार भएका छन् । यसो भनिरहँदा केहि पनि भएन र गरेनन् भन्ने मेरो भनाई हैन । तथापि जे जति हुनुपर्थ्यो त्यो भने पक्कै नभएकै हो ।

शिक्षकहरुको साझा संगठन शिक्षक महासँघले सबै सँघ संगठनलाई समेटेर विवादरहित ढङ्गबाट काम गर्न सकिरहेको छैन । सेवानिवृत्त व्यक्ति महासँघको अध्यक्ष हुन पाउने नपाउने विपय सतहमा आउँदा यसको कार्यशैली छताछुल्ल भएको म अहिले पनि स्मरण गर्न चाहन्छु । विधि विधान अनुरुप नभएको अवैधानिक घोषणा गरिएको र तत्काल सच्याउन माग राखेका विभिन्न सँघ संगठनहरु पुनः उहि नेतृत्व स्वीकार गरी चुपचाप लागेको देख्दा मलाई अचम्म लागेको छ । केहि समय अगाडी त्यहि अवैधानिक अनि केहि समय पश्चात उहि स्वरुपमा उहि व्यक्ति वैधानिक । विद्वत वर्गले देखाउने यहाँ सम्मको लाचारी सायद म जस्ता धेरै आम शिक्षकले बुझ्न सकेका छैनन् ।

घटनाक्रम र आचरणलाई नियालेर हेर्दा आज मलाई लाग्न थालेको छ कि हाम्रा समस्या जिउकातिउँ नहुने आधारहरु गुम्दै गएका छन् । शिक्षकको हक र अधिकार क्षीण बन्दै गएको छ । आशाहरु निराशामा परिणत हुँदैछन् । सायद यहि निराशाको उपज होला अहिलेको स्वतन्त्र शिक्षकको बहस ।

अधिकारका लागि एकता आवश्यक छ । हामीले विगतको अनुभवलाई स्मरण गर्ने हो भने जटिल प्रकृतिका समस्याहरु पनि सहमति, सहकार्य र एकताबाट संभव भएको पाउँछौं । शिक्षक हक, हितका लागि अहिले पनि यहि एकताको खाँचो छ । एकताको कुरा गर्दा समग्र शिक्षकहरुका पेसागत सँघ संगठनको एकता कि कार्यगत एकता भन्ने विषय हो ।

शिक्षकको एक मात्र पेसागत संघ संगठन हुनु र सबै शिक्षकहरु यसमै समाहित हुने कुरा सुन्दर छ । तर यो कति संभव हुन्छ र व्यवहारिक हुन्छ भन्ने कुराको मनन गर्नु पर्दछ । यस्तो खालको एकताका लागि न्यूनतम विधि, पद्धति र मूल्यमान्यतामा समानता हुनु पर्दछ । जब कुनै पनि मुद्दामा सामाजिक न्यायले प्राथमिकता पाउँछ त्यहाँ समर्थन र विरोधका दोहोरो जुहारी सुनिँदैन । ठीक भए समर्थनको स्वर र वेठीक भए विरोधको स्वर बुलन्द हुन्छ । तर हाम्रो समाज (शिक्षक समाज) लाई हेर्ने हो भने विद्वताका बावजुद समर्थन र विरोधका नाममा पक्ष र विपक्ष भई वकालत गर्ने परम्परा स्थापित हुन पुगेको छ । त्यहि समर्थक को बिल्ला भिरेर सामाजिक न्याय स्थापित गर्न सकिँदैन ।

स्वतन्त्र शिक्षक आन्दोलनको घोषणा गर्न त सजिलो होला तर यसको कार्यान्वयन  म एकदम जटिल देख्दैछु । बहुदलीय पद्धति अंगिकार गरेको हाम्रो जस्तो मुलुकमा दलहरुलाई नै नजरअन्दाज गरेर कुनै पनि आन्दोलन ले के कति उपलब्धि हासिल गर्न सक्ला । अर्को तर्फ शिक्षकका आवाजलाई एकत्रित गराउनका लागि सँघ संगठन कै भूमिका हुने होला । शिक्षककै पिच्छेका धेरै सँघ संगठनहरु छन् । मेरो बुझाइमा सबै शिक्षकको साझा छाता संगठन शिक्षक महासँघ हो । राज्यले पनि स्थापित सबैको साझा सँस्थालाई मान्यता देला । भलै यसका कार्यहरु अपेक्षाकृतरुपमा संतोशप्रद नभए पनि यसको अगुवाइमा सबै सँघ संगठनहरु गोलवद्ध भएर गरिने आन्दोलन ले दबाव सृजना गर्न सहज हुन्छ होला जस्तो लाग्छ ।

विगतका कमि कमजोरीहरुलाई आत्मसात गरी शिक्षक महासँघको नेतृत्व शिक्षक हक, हित र अधिकारप्रति सचेत, कटिबद्ध र जिम्मेवार बन्नु पर्दछ, बनाइनु पर्दछ ।

अन्त्यमा शिक्षकलाई भइआएका विभेदको अन्त्य गरी समान अधिकार स्थापित गर्ने कार्यमा गोलबद्ध हुनै पर्ने अवस्था आएको छ । यसमा विलम्ब नगरौं ।

(शिक्षक, होमराज लोहनी शारदा शिक्षा सदन मा.वि., भानु – २, तनहुँ)

 

 यो पनि पढ्नुहोस् 

महामारीमा विद्यालय सञ्चालनको आधार

 

 

 

 

 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget