३० श्रावण २०७८
कोभिड जोखिम कायम नै रहँदा विद्यालय सञ्चालनको विषय कठिन बन्दै गइरहेको छ । स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्न सकिने अवस्था अहिले सम्म देखिएको छैन । विगतका दुई शैक्षिक वर्षहरु व्यतित भइसकेका छन् । अबको बाटो के र कसरी विद्यालय सञ्चालन हुन्छन् भन्ने कुराको अहिले पनि उहि अन्योल कायम नै रहेको अवस्था छ ।
भौतिक उपस्थितिमा विद्यालय सञ्चालन
हुन नसक्दा इन्टरनेटको माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गर्ने विकल्प आइरहँदा
यसलाई कार्यान्वयनका लागि आवश्यक तयारी हुन सकिरहेको छैन । प्रायः विद्यालयहरुले
अनलाइन कक्षालाई परीक्षणमा ल्याए पनि यो केवल औपचारिकता निभाउनमा मात्र केन्द्रित
देखिन्छ ।
शिक्षकले कामै नगरी तलवभत्ता खाए
भन्ने आरोपबाट बच्नका लागि मात्र अनलाइन कक्षाको दुहाइ दिएर पुग्दैन । यसमा धेरै
नै जटिलता छन् । ती जटिलताहरुलाई न्यूनीकरण गरी अबको बाटो के हुने भन्ने विषयमा
एउटा ठोस निर्णय लिएर कार्यान्वयनमा जान ढिला भइसकेको छ ।
अनलाइन कक्षा सञ्चालनका लागि
आवश्यक पूर्वाधार विकास हुनु पर्दछ । खासमा विद्यालयले अनलाइन कक्षाका लागि कक्षा
सञ्चालन गरेर मात्र पुग्दैन । यसलाई प्रभावकारी बनाएर सबै विद्यार्थीहरुको पहुँचमा
पुर्याउनका लागि व्यापक तयारी गर्नु पर्दछ ।
विद्यालयले आफ्ना नानीबाबुहरुको
इन्टरनेटमा पहुँच भए नभएको स्थलगत अनुगमन गरी वास्तविकता पत्ता लगाउने कार्य
अनलाइन कक्षा सञ्चालनको पहिलो कार्य हो । के कस्तो सुविधा छ या छैन ? जुम, टिम,
मिट, आदि लगायतका माध्यमबाट कक्षामा सहभागिता सम्भव छ या छैन ? सामाजिक सञ्जाल
कत्तिको प्रभावकारी हुन सक्दछ ? या यी दुबै सम्भव छैन ? अन्य विकल्प के के हुन
सक्दछन् ? डिजिटल सामग्री निर्माण र प्रयोगमा के कस्ता समस्याहरु छन् ? अफलाइन
सामग्रीहरु कत्तिको प्रभावकारी हुन सक्लान् ? अर्थात् कति प्रतिशत विद्यार्थीहरु
कुन विकल्पमा समाहित हुन सक्छन् र कुनै पनि विकल्पमा सहभागी हुन नसक्ने
विद्यार्थीको खास संख्या कति छ ? र तिनीहरुलाई उपयुक्त विकल्पमा पहुँच पुर्याउनका
लागि के गर्नु पर्दछ ? भन्ने विषयमा अध्ययन नगरी सञ्चालन हुने कार्यक्रमहरु पक्कै
पनि औपचारिकतामा मात्र सिमित हुन्छन् ।
के स्पष्ट हुन्छ भने अबको विषम
परिस्थितिमा वैकल्पिक विधि अबलम्वन गर्नका लागि व्यापक तयारी आवश्यक छ । तर यो
तयारी कसले गर्ने हो ? शिक्षकले ? विद्यार्थीले ? अभिभावकले ? विद्यालयले ? या
कस्ले ?
पक्कै पनि कुनै एक पक्षबाट मात्र
भएका प्रयासले सफलता प्राप्त हुँदैन । यसमा विद्यालयसँग अर्थात् विद्यालयीय
गतिविधिहरुसँग सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक हुन्छ । प्रथम जिम्मेवारी त
विद्यालयकै हो । तर विद्यालयले सबै पक्षसँग सहकार्य गरेर विकल्प दिनका लागि व्यापक
छलफल, अन्तरक्रिया र सहकार्यको वातावरण सृजना गर्नु पर्दछ ।
अनलाइन लगायतका वैकल्पिक विधि र पद्धति बाट
नियमित कक्षा सञ्चालन गर्नका लागि प्रथमतः विद्यालयले आफ्नो सेवाक्षेत्रको
वस्तुस्थिति आँकलन गर्नु पर्दछ । कति प्रतिशत विद्यार्थीहरु कुन विकल्पको पहुँचमा
छन् र कति कुन मा ? भन्ने तथ्याङ्क पहिलो कुरा हो । दोस्रो विद्यालयले कुनै पनि
पहुँचमा पुग्न नसक्नेलाई कसरी उनीहरुमा पहुँचको सुनिश्चितता गर्न सकिन्छ भन्ने नै
हो । यसका लागि विद्यालय सेवा क्षेत्र भित्र अवस्थित सरकारी निकायहरु, टोल विकास संस्था, आमा समूह, यूवा क्लबहरु,
सामुदायिक वन उपभोक्ता समितिहरु लगायतका सामाजिक सँघसंस्थाहरुसँग प्रतक्ष छलफल र
परामर्ष गरी साथ र सहयोग प्राप्त गर्ने
वातावरण निर्माण गर्न सकिन्छ । अभिभावकहरुलाई अबको सिकाइ प्रकृयाको बारेमा अवगत
गराई सबैको साथ र सहयोग लिने वातावरण सृजना गर्न सकेमा इन्टरनेटको माध्यमबाट
सञ्चालन गरिने वैकल्पिक कक्षा सञ्चालनमा केहि सहजता प्राप्त हुन सक्दछ ।
जब कार्यक्रमहरु सहभागीतामूलक
हुन्छन् तब त्यसले अपनत्व ग्रहण गर्दछ र सफलता प्राप्त गर्ने दिशा तर्फ उन्मुख
हुन्छन् । वैकल्पिक विधि अर्थात् भर्चुअल कक्षा सञ्चालनका लागि विद्यालयले तयारी
कार्य पूरा गर्नै पर्दछ । यसका लागि विद्यालयले सम्बन्धित सबै पक्षको सहभागीतामा
कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नु पर्दछ ।
वैकल्पिक विधिको प्रयोगकर्ताका
लागि आवश्यक पर्ने ज्ञान र सीप विकासका लागि यथोचित वातावरण विद्यालयले निर्माण
गर्नका लागि ढिला गर्नु हुँदैन । आधुनिक प्रविधिको विकास सँगै धेरै अनलाइन अफलाइन
एप्लिकेसनहरुको विकास भइसकेको छ । शिक्षण सिकाइ कृयाकलाप कम्प्युटरबाट मात्र होइन,
हात हातमा बोकेर हिड्ने मोवाइल फोनबाट पनि सजिलो सँग गर्न सकिन्छ । यसका लागि
विद्यालयले सम्पूर्ण शिक्षकहरुलाई यथाशीघ्र प्रविधिमा आधारित तालिमको व्यवस्था
गर्नु पर्दछ ।
विद्यार्थी तथा अभिभावकहरुलाई समेत
आवश्यक परामर्ष दिइ सहजीकरण गर्न सकेमा क्रमशः नयाँ प्रविधिले सिकाइमा प्रवेश
पाउँदछ र सिकाइ सहज र प्रभावकारी बन्दै जान्छ । अहिलेका विद्यार्थीहरु प्रविधिमा
अभ्यस्त छन् । यदि छैनन् भने पनि उनीहरुले अवसर प्राप्त गर्ने हो भने छिटो सिकाइ
गर्न सक्दछन् । त्यसैले यो अवसर सिकाइमा सृजना गर्नु उपयुक्त हुन्छ ।
कोभिड संक्रमणको निराकरण गर्न
नसकिरहँदा र कहिले सम्म यो जोखिम कायम हुन्छ भनेर आंकलन गर्न नसकिरहँदा ढिलो चाँडो प्रविधि भन्दा बाहेक अन्य विकल्प
प्रयोग गर्न सक्ने अवस्था नआउन सक्छ । यसको बेलैमा पूर्वानूमान गरी प्रविधि
प्रयोगमा सवलीकरण गर्दै जाने हो भने यो र यस्तै विषम परिस्थितिमा पनि नियमित सिकाइ सञ्चालन
गर्न असम्भव भने पक्कै हुँदैन ।
गोविन्द भट्टराई
शिक्षक
होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.
भानु नगरपालिका २, तनहुँ ।
Post a Comment