१ भाद्र २०७८
कर्म
नगरी फल प्राप्त गर्न सकिदैन । राम्रो फल प्राप्तिका लागि कर्मले मात्र पनि
पुग्दैन । कामप्रतिको लगाव र समर्पणले उच्चतम् लक्ष हासिल गर्नका लागि सहयोग गर्दछ
। कामको नियमित हेरचाहले मात्र फलको सुनिश्चितता गर्दछ । परिश्रम र मेहनत नै
उपलब्धिका द्योतक हुन् ।
कामको निरन्तरताले कार्यकुशलतामा निखारता ल्याउने गर्दछ ।काममा कौशलता सँगै उपलब्धिहरु सहजरुपमा प्राप्त गर्न सकिन्छ । काम गराइको तौरतरिकालाई परिस्कृत र परिमार्जन गर्दै उच्चतम् उपलब्धि हासिल गर्नका लागि काम प्रतिको इमान्दारीता, निष्ठा र सम्मान अपरिहार्य छ ।
सरसर्ती
नेपाली समाजको पछिल्लो प्रवृत्तिगत चित्रलाई नियाल्ने हो भने कामप्रति इमान्दारीता
र विश्वास गुम्दै गएको अवस्था छ । जीविकोपार्जन तथा परिवारको लालनपालनका लागि
आवश्यक पर्ने आर्थिक व्यवस्थापनका लागि कुनै निश्चित पेसा र व्यवसायमा गरिने
निरन्तर मेहनत भन्दा पनि मानिस कसरी सहजरुपमा धनआर्जन गर्न सकिन्छ भनेर विभिन्न
बाटाहरु पहिल्याउन तर्फ मायुर देखिन थालेको छ । जसरी पनि धनार्जन गर्ने, पद र
प्रतिष्ठा प्राप्त गर्ने अभिष्ट हावी हुँदा समाजमा चोरबाटो अवलम्बन गर्नेको संख्या
बढ्दै गएको छ ।
वैयक्तिक
विकासका लागि सामाजिक तथा सामूहिक सम्पत्तिको दोहन गर्ने कार्य अनिचित छ । अरुको
हानी र नोक्सानीबाट आफू सबल बन्ने सोच मानवीय सोच होइन । अरुको पद र प्रतिष्ठमा
चोट पुर्याएर आफू अगाडी बढ्छु भन्ने दृष्टि आफैंमा भ्रमपूर्ण छ । तथापि समाजमा यो
प्रवृत्ति हावी हुँदै गएको छ ।
समाजमा
उद्यमशीलता मर्दै गएको छ । जसले गर्दा हाम्रो जस्तो कृषिप्रधान देशको खेतीयोग्य
जमीन बाँझिदै छ । प्राकृतिक स्रोत र सम्पदाहरु नासिँदै गएका छन् । सामाजिक
रितीरिवाज र संस्कृति धरासाही बन्दैछ । सामाजिक सद्भाव, मेलमिलाप, सहयोग, सहकार्य
र भाइचारा क्रमशः धुमिल हुँदै छ ।
सफलतामा
आफ्नो क्षमतालाई मात्र अब्बल ठान्ने, अन्य पक्षहरुको साथ र सहयोगको नजरअन्दाज
गर्ने र हरेक असफलतामा अरु कसैको हात रहेको भनी तथानाम गालीगलौज गर्न पछि नपर्ने
प्रवृत्तिकै कारण आज मानिस धेरै नै असन्तुष्टि बोकेर बाँच्न विवश छ ।यसबाट व्यक्ति
आफू मानसिक कुण्ठाका कारण अशान्त र छटपटीमा जीवन व्यतित गरिरहेको त छ नै, यसले अनावश्यक
अरुलाई पनि सताइरहेको छ ।
इमान्दारीता
सहितको उद्यमशीलता अनि कामप्रतिको विश्वास र सम्मान भएमा समाजमा यस्तो प्रवृत्ति क्रमशः
कम हुँदै जान सक्छ र हाँसीखुसी जीवन जीउने
अवसर प्राप्त हुन सक्दछ ।
गोविन्द भट्टराई
(शिक्षक, होमराज लोहनी शारदा शिक्षा सदन मा.वि., भानु २,
तनहुँ)
Post a Comment