गोविन्द भट्टराई
भानु, तनहुँ, १४ वैसाख २०७७
आज नेपालमा लकडाउन यानेकी बन्दाबन्दी भएको तेत्तिसौं दिन । टेष्टिङ्ग र ट्रेसिङ्ग बढे सँगै थप नयाँ कोरोना संक्रमणका केसहरु विभिन्न जिल्लाहरुमा आइरहेको अवस्था छ । सुखद पक्ष यो छ कि संक्रमण बढे पनि थप जटिलता देखापरेको छैन र कोरोनालाई परास्त गरेर संक्रमितहरु घर फर्किन थालेका छन् । संकटको पूर्व तयारी खासै नभए पनि र स्वस्थ्य उपचार व्यवस्थापनमा प्रारम्भिक चरणमा सरकारको तर्फबाट केहि कमजोरी भए पनि अहिले सबै क्षेत्रको अवस्था सुधारोन्मुख हुनुले नागरिकमा कोरोना त्रास कम हुँदै गइरहेको छ ।
माहामारीका वीच देखा परेको चरम राजनितिक खिचातानीले थप सन्त्रास सृजना गर्न नखोजेको भने होइन । तथापि राजनितिक द्वन्दले युटर्न लिएर कोरोना कहरका लागि एकजुट हुनै पर्ने सन्देश दिए सँगै अब अर्को गल्ति पक्कै हुनेछैन भनेर नागरिकहरु आशावादी भएर कोरोना सँग लड्नका लागि क्रमशः तयार हुँदै गरेको अवस्था छ । एक दिन बढि रक्सी खाएर घरमा आएर श्रीमतीलाई अनाहकमा पिट्ने श्रीमान् पश्चातापको भुमरीमा परि केहि दिन संयम भएर बसे जस्तै सायद अब यो माहामारीमा अर्को कुनै भूल हुनेछैन आशा गरौं ।
बन्दाबन्दी रहर होइन यो वाध्यता हो । सायद आज तेत्तसौं दिनमा आइपुग्दा यसको बारेमा नबुझ्ने कोहि पनि छैन । कोरोना मानव इतिहासकै एक अदृष्य शत्रु हो र यसले जुनसुकै बेला जुनसुकै ठाउँमा आक्रमण गर्न सक्छ र जीवन हरण गर्न सक्छ । सायद यो पनि अब सबै नागरिकहरुलाई थाहा भइसकेको छ । यसको उत्पत्ति कसरी भयो भन्ने अन्योलता भए पनि यो कति विध्वङ्गसकारी छ र कति तीब्र वेगमा फैलिरहेको छ भन्ने कुरा जग जाहेर छ । मानिस बाट मानिसमा मात्र नभइ जुनसुकै चिज बस्तुबाट पनि यसको संक्रमण हुन सक्ने र यसबाट बच्नका लागि नियमित साबुनपानीले हात धुने अनि सेनेटाइजरको प्रयोग गर्ने भन्ने कुरा अब साना साना बालबालिकाले समेत सहजै भन्ने अवस्था सृजना भइसकेको छ । सामाजिक दूरी कायम गर्ने, घरमै बस्ने, अत्यावस्यकीय कामका लागि घर बाहिर जानु पर्ने भए अनिवार्य पञ्जा तथा मास्कको प्रयोग गर्ने भनेर अब भनिरहनु नपर्ने हो । तथापि बन्दाबन्दीको अवधि बढ्दै जाँदा नागरिकमा हुनु पर्ने सचेतता क्रमशः कम हुँदै गएको हो कि भन्ने भान हुन थालेको छ ।
हुनतः लामो समयसम्म घरमै बस्नु पर्दा समय कटाउन असहज पक्कै भएको छ । दिन गए रात जाँदैन अनि रात गए दिन जाँदैन । यहाँ समय व्यतित गर्न कठिनाइ त छँदै छ । अर्को तर्फ दैनिक उपभोग्य बस्तुहरु सकिँदै जाँदा र यसको व्यवस्थापनको स्रोत नहुँदा जनजीवन थप कष्टकर हुँदै गएको छ । कोरोना माहामारीले यहि अवस्था रहि रहने हो भने सायद अब भोकमारी अवश्यम्भावी छ । कोरोना संक्रमण बढ्दै गएका ठाउँहरु क्रमशः सिलहुँदै गएका छन् । त्यहाँको जनजीवन झनै कठिन बनेको छ । त्यसैले यदि तपाई हामी अहिले बसिराखेको समुदायमा पनि संक्रमण भयो भने के होला ? यसबारेमा हामीले विलम्ब नगरी सोच्ने बेला आएको छ ।
मानिसहरुमा एकातर्फ कोरोना संक्रमणको त्रास छ भने अर्को तर्फ दैनिक उपभोग्य बस्तुको अभावमा भोकै बस्नु पर्ने अवस्था सृजना हुँदै नजाला भन्न सकिन्न । यदि यस्तो अवस्था आयो भने कल्पना गर्नुहोस् त खानेकुराको अभावका वीच निस्किएको अवोध बालबालिकाको चित्कार अनि यसको व्यवस्थापन गर्न नसकेर टुलुटुलु हेरेर बस्नु पर्ने बाध्यता तपाईं हामी वीचमा आए के होला । त्यसैले यस्तो अवस्था आउन नदिनका लागि तपाईं हामी थप सचेत भएर हामीले पूर्व तयारी गर्नु पर्दछ । धनी भए पनि गरीव भए पनि आखिर हामी सबै नेपाली हौं । हामीले यस्ता किसिमका समस्या मिलेर समाधान गर्नु पर्दछ किनकि हामी जीउँदाको जन्ती र मर्दाको मलामी हौं ।
सरकारी संयन्त्र र परोपकारी सँघ संस्थाले यो कार्यमा अग्रणी भूमिका खेल्लान् र तपाईं हाम्रो यसमा हातेमालो पक्कै होला । हुनत आज सम्म खासै त्यस्तो भएको त छैन । खैर आशा अझै नमारौं । तर अहिले बन्दाबन्दी बढ्दै जाँदा तपाईं हामी अझ बढि सचेत हुनु पर्नेमा अलि बढि लापरवाही गर्न थालेका छौं जस्तो लागि रहेको छ । यसमा तत्काल हामीले पुनर्विचार गर्नु जरुरी छ ।
बन्दाबन्दी शुरुहुँदै गर्दा यसको कडाइका साथ तपाईं हामीले पालना गरेका थियौं । अत्यावस्यकीय काममा मात्र हामी बाहिर जान्थ्यौं । बाहिर जाँदा अनिवार्य मास्क लगायतका सामग्री प्रयोग गर्थ्यौं र सामाजिक दूरी कायम गर्थ्यौं । तर अहिले हामीले खासै यो विषयमा सोचेका छैनौं । आफ्नै गाउँ टोल छरछिमेकमा त केहि हुँदैन भन्ने भावना क्रमशः बढ्दै गएको हो कि जस्तो लाग्न थालेको छ । फेरि हामी त विश्वमा कहलिएका बहादुर गोर्खा पनि हौं । कतै कतै नेपालीहरुलाई त यो कोरोनाले केहि गर्न सक्दैन भन्ने खालका कुराहरु पनि सुनिन थालेका छन् । नेपालीको स्टामिना दह्रो छ र हतपत केहि हुन्न भन्ने सुनिदैछ । हुन त कोरोना संक्रमणलाई परास्त गर्न राम्रो स्टामिना चाहिने रहेछ । तर आफू ओभर कन्फिडेण्ट भएर हामीले लापरवाही गरियो भने सायद हाम्रो स्टामिनाले नथेग्ला कि । फेरि हामीमा कति स्टामिना छ र यो कोरोनालाई परास्त गर्नका लागि पर्याप्त हो होइन पनि हामीलाई थाहा छैन । त्यसैले यस्ता किसिमका हल्लाका पछि लाग्नु हुँदैन ।
समाजका विद्वत वर्गबाट या अगुवाहरुबाट सामाजिक दूरी कायम गर्ने कुरामा या व्यक्तिगत सुरक्षा कवज अवलम्बन गर्ने कुरामा सावधानीका कुरामा केहि सल्लाह सुझाब दिँदा र अनुरोध गर्दा समेत खासै गम्भीर नबनेका घटनाहरु पनि सुनिन थालेको छ । सावधानी तपाईं या मेरा लागि मात्र होइन । हाम्रो सावधानी हामी सबैको लागि हो । यदि म मा संक्रमण भयो भने तपाईं सुरक्षित हुन कठिन छ र यदि तपाईंमा संक्रमण भयो भने म सुरक्षित हुन कठिन छ । तसर्थ हाम्रो सुरक्षा हाम्रो परिवारको सुरक्षा हो । हाम्रो परिवारको सुरक्षा हाम्रो समुदाय र समाजको सुरक्षा हो भन्ने कुरा हामीले आत्मसात गर्नु पर्दछ ।
अहिले पछिल्लो समयमा शहरबाट गाउँ गाउँमा नागरिकहरु आउने क्रम बढेको छ । शहरको जीवन कष्टकर हुँदै जाँदा यो क्रम अझ बढ्ने निश्चित छ । आपत परे पछि मानिसले आश्रय खोज्छ । अनि सहज आश्रय परिवार नै हो । आउन पाउनु पर्दछ र आउने क्रम छ । तर उनीहरुलाई अनिवार्य क्वारेन्टिनमा राख्नु पर्दछ । यसको व्यवस्थापन स्थानीय स्तरमा हुनु पर्दछ र नबआगन्तुकले यसमा बसेर कोरोना संक्रमण नियन्त्रणका लागि सहयोग गर्नु पर्दछ । साथै क्वारेन्टिनमा बसेकालाई अनिवार्य स्वाब परीक्षणको व्यवस्था समेत गरिनु पर्दछ ।
देश भित्रबाट मात्र नभइ देश बाहिर बाट पनि मानिसहरु आउने क्रम छ र यो भविष्यमा बढेर जाने देखिन्छ । यसले अब गाउँलाई थप जोखिम बनाउन सक्दछ । तसर्थ तपाईं हामी मिलेर थप क्वारेन्टिनको व्यवस्थापन मिलाउँदै जानु पर्ने बेला आएको छ । थप सतर्कता नअपनाइए समस्या जटिल बन्न सक्दछ । त्यसैले सतर्कतापूर्वक तयारीका साथ हामीले अझ केहि दिन बन्दाबन्दीको पालना गर्नु श्रेयष्कर हुनेछ ।
Post a Comment