शैक्षिक सुधारमा समर्पित व्लग

 


महामारीको मारमा मजदुर

 


कोरोना माहामारी रोकथामको अचुक औसधिको रुपमा प्रयोग गरिएको बन्दाबन्दीको अवधि बढ्दै जाँदा र यसको अन्त्यको विकल्प नदेखिरहँदा यसबाट जनजीवनमा परेको असर मुलुकभर विकराल बन्दै गइरहेको दृष्यहरु देखापर्न थालेका छन् । खासगरी नागरिकको सुरक्षाका लागि अबलम्बन गरिएको बन्दाबन्दीको अशर अहिले आएर ज्याला मजदुरी गरेर दुई हातमुख जोड्ने जोहो गर्नेहरुका लागि अभिसाप बन्दै गइरहेको छ ।
परिवारको सुख सम्वृद्धि र खुशीका लागि गाउँबाट सामल बोकी शहरतिर मजदुरी गर्न हानिएका आशावादी मनहरु खाद्यान्न अभावका कारण विचलित भएर जीवन जोगाउनका लागि अहिले निराश बनेर दुखले आर्जेको कुम्लोकुटुरो बोकी आफ्नो गाउँघर र परिवारसँगै दुःख साटासाट गरी जीवनको भारी विसाउनका लागि हप्तौंको पैदल यात्रा गर्न विवश छन् । एका तर्फ भोको पेट अर्को तर्फ कोरोना भाइरसको संत्रास त्यसमा पनि सुरक्षाका लागि खटिएका राष्ट्रसेवकहरुबाट बाटोमा हुने चेकजाँच अनि अनाहकको सास्तिका विच रोइरहेका मनहरु अविरल आफ्नो गन्तव्य तर्फ लागिरहेका दृष्य देशका मुख्य सडकहरुमा देखिएको धेरै भइसक्यो । साना दुधे बालक बोकी टन्टलापुर घाममा हप्तौं देखिको यात्रा अनि बाटोमा भेटिएकाहरुबाट बन्दाबन्दीको उल्लङ्घनका नाममा हुने गरेको सास्ती सायद अमानवियताको पराकाष्टा हो भन्नु अनुपयुक्त नहोला ।
चारै तिर विभिन्न तहका सरकारहरुको उपस्थितिले नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने हो उचित व्यवस्थापन हुनु पर्ने हो र वास्तविक पिडितले राहत प्राप्त गरेर कमसेकम बन्दाबन्दी अवधिभर आफू रहेकै ठाउँमा सुरक्षित तवरबाट बस्न पाउनु पर्ने हो । कतै सरकारी निकायहरुवीचको हानाथापका कारण नै उनीहरु पट्यारलाग्दो निरन्तरको लामो आश्रय खोज्ने यात्रामा हिड्न वाध्य भएका त होइनन् प्रश्न गर्नु पर्ने अवस्था आएको छ ।
दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने पनि नेपाली नागरिक नै हुन् । विश्व मै उत्कृष्ट भनिएको नेपालको संविधान २०७२ ले सायद उनीहरुलाई पनि समेटेको छ । तर अहिले यसको प्रत्याभूति गर्न पाएको अवस्था छैन । विपदको समयमा नागरिकका धेरै अधिकारहरु खुम्चिन पुग्छन् यो जोखिम न्यूनिकरणका लागि आवश्यक पनि हुन सक्ला । तर व्यक्तिको सुरक्षित बस्न र बाँच्न पाउने अधिकारमाथी कुनै पनि अवस्थामा  सम्झौता हुन सक्दैन भन्ने कुरामा राज्य तथा हामी नागरिकहरु सजग हुनु पर्दछ ।

हरेक समुदायमा कोरोनाको सन्त्रास छ । कतिपय ठाउँहरुमा त जाने मार्ग नै बन्द गरिएका छन् । एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न बन्द गरिएको अवस्था छ । यो सुरक्षाका लागि ठिकै होला । तर अत्यावस्यकिय कामका लागि सामाजिक दुरी कायम राखेर दैनिक गुजारा चलाउने वातावरण निर्माण तर्फ हाम्रो ध्यान जानु जरुरी देखिँदैछ । सजगताका नाममा मानिसहरु वीच विभेद हुनु हुँदैन । अफ्ट्यारोमा परेकालाई सहयोग गर्नु मानवीय धर्म हो र यो बहन गर्ने बेला आएको छ ।
चुनावका बेला कार्यकर्ताहरु ओसार पसार गर्न गाडीको लर्को लाग्ने गर्दथ्यो । तर अहिले विपदमा परेका नागरिकहरुले गन्तव्य सम्म पुग्नका लागि कुनै विकल्प पाएका छैनन् । बन्दाबन्दी भएकै कारण व्यवस्थापन मिलाउन नसकेको हो भने बाटोमा भौतारिएका नागरिकहरुलाई सुरक्षित ठाउँमा खाने बस्ने प्रवन्ध गर्नका लागि किन हामी चुकिरहेका छौं र उनीहरुलाई देखेको नदेख्यै गरिरहेका छौ ? के हाम्रो समाजमा मानवताको खोजी गर्न टुकि नै बाल्नु पर्ने अवस्था आएको हो ?
परिवारसँग छुट्टिएर बस्नु परेको पिडा गाउँमा फैलिदै गएको संक्रमण र परिवारजनको असुरक्षा अनि विहान बेलुका छाक टार्नका लागि खाद्यान्नको अभाव बस्नका लागि सुरक्षित ओतको खडेरीका वीचको जिन्दगी कस्तो होला । त्यसमा पनि चर्को घाममा बन्दाबन्दी उल्लङ्घनका नाममा पाउने सास्ती सायद यो भन्दा कारुणिक अवस्था हुँदैन होला । अनकन्टार जङ्गलको बाटो जङ्गली जनावरको त्रास अनि त्रासका वीच आफ्नै घर पुग्ने आश कहिले सकुसल पुग्ने होला गन्तव्यमा? यहि अन्यौलका वीच सरकारले लकडाउनलाई अझ कडाइ गर्ने र मानिसहरुलाई हिड्न नदिने अनि जहाँ छन् त्यहि उचित व्यवस्थापन गर्ने नीति तय गरे सँगै बाटोमा अलपत्र परेकाहरु जहाँ छन् त्यहिँ रोकिएका खवरहरु आउन थालेका छन् । उनीहरुले उचित खानपिन र बासस्थानको अवसर प्राप्त गरी सुरक्षित सँग बस्ने व्यवस्थाको सुनिश्चितता होस् ।
विपदको समयमा अलपत्र परेकालाई सहयोग गर्नु नै पहिलो प्राथमिकता हुनु पर्दछ । जति पनि विपदका घटनाहरु घट्दै गर्दा यसबाट प्रतक्ष प्रभावित हुनेलाई पहिलो प्राथमिकतामा राखेर कार्य गरिन्छ र गर्नु पर्दछ । नत्र एक विपदबाट अन्य विपदको सृजना हुन सक्दछ । यसमा सबैको ऐक्यबद्धता हुनु पर्दछ ।
सरकारी निकायबाट पहल कदमी लिने हो र यसलाई मुर्त रुप दिने कार्यमा सहयोग गर्नका लागि गैर्ह सरकारी निकायहरु तथा नागरिक समाजको हातेमालो अपरिहार्य छ । तसर्थ कोरोना भाइरस प्रकोपलाई परास्त गर्नका लागि अहिले देशका विभिन्न ठाउँमा अलपत्र परेका नागरिकहरुलाई सुरक्षित गरौं र महामारी विरुद्धको अभियानमा आआफ्नो ठाउँबाट सहयोग गरौं । देशभरका मजदुरहरुलाई सुरक्षित ठाउँमा सहजतापूर्वक जीउन सक्ने वातावरण निर्माणमा सबैको ध्यान जाओस् । कोहि कसैले दुई छाक हातमुद जोड्न नसकेर भौतारिनु नपरोस् ।
गोविन्द भट्टराई
तनहुँ
  


Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget