२३ आसाढ, २०७८
कोभिड महामारीका कारण शिक्षा क्षेत्र
नराम्ररी प्रभावित बनेको छ । विद्यालय तथा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु
विगत बर्ष देखि नै सहज सुचारू हुन सकिरहेका छैनन् । यसको प्रत्यक्ष अशर
विद्यार्थीमा परेको छ । नियमित पठनपाठन नभए पनि शैक्षिक सत्र पूरा गर्नु पर्ने
बाध्यताका कारण सिकाइ उपलब्धी स्तर ह्रास हुँदै गएको छ । तथापि यो विषयले हाम्रो
समाजमा त्यति महत्व पाउन सकिरहेको छैन ।
स्थानीय प्रशाशनले विद्यालयहरु बन्द
गर्ने उर्दी जारी गर्ने र शिक्षा सम्बन्धी सरोकारवाला नियमनकारी निकायहरुले
औपचारिकताका लागि बेला बेलामा विद्यालयहरुलाई सिकाइ तयारीका लागि निर्देशन दिने
बाहेक खासै केहि भएको अनुभूति गर्न पाइएको छैन । शिक्षक नियुक्ति, सरुवा, बढुवा
तथा विद्यालय सञ्चालनका लागि गठनहुने वि.व्य.स. तथा शि.अ.सं. मा जनचासो भए पनि
विद्यालयको शैक्षिक विकासमा खासै चासो व्यक्त भएको पाईंदैन ।
कोरोना भाइरस संक्रमण बढे सँगै पहिलो
नम्बरमा विद्यालयहरु नै प्रभावित हुने हुन् । विद्यालयहरु प्रभावित हुँदा
विद्यार्थीहरुको पढाइ प्रभावित हुन्छ र पढाइ प्रभावित हुँदा नागरिक भविश्य नै
प्रभावित हुन्छ भन्ने कुराले प्राथमिकता नपाउनु विडम्बना हो ।
विद्यालय तहको अघिल्लो शैक्षिक बर्ष
केहि समय लम्ब्याइए पनि सहजरुपमा सम्पन्न गर्न नसकिएकै हो । अब आगामी शैक्षिक सत्र
मात्र १० महिनाका लागि भनेर शुरुभइरहँदा तत्काल सिकाइ सञ्चालनका लागि आवश्यक तयारी
गर्दै परिवेश अनुकूल उपयुक्त वैकल्पिक विधि अवलम्बन गरी निरन्तर सिकाइको
सुनिश्चितता गर्न ढिला भइसकेको छ ।
अब पनि कोरोना महामारी कम भए पछि विद्यालयहरु खुल्छन् , अनि पहिलाको जस्तै विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरौंला भनेर दिन गनेर बस्ने हो भने नयाँ शैक्षिक बर्ष पनि त्यत्तिकै नसकिएला भन्न सकिन्न । सरोकारवालाको बेलैमा ध्यान पुगोस् ।
Post a Comment