२ श्रावण, २०७८
आफू जलेर मैन बत्तीले अरुलाई उज्यालो दिने गर्दछ । त्यतिबेला सम्म दिन्छ जतिबेला सम्म उसको अस्तित्व कायम रहन्छ । माझी दाईले हजारौं यात्रीहरुलाई डुङ्गामा नदी पार गराउँदछन् । यात्रीहरु जीवनका विभिन्न मोड पार गर्दै विभिन्न ठाउँमा पुगेर आफ्नो अस्तित्व कायम गर्दछन् । तर माझी दाई उहि आफ्नो पुरानो पहिचान मै रहेर जीवनको उत्तरार्धमा पुग्दछन् । विना कुनै भेदभाव जो कोहि लाई अनवरत नदि पार गराउँदै गर्दा उनको आफ्नै जीवनको अन्त्य हुने गर्दछ ।
अन्धेरी रातमा उज्यालो छर्ने मैन बत्तीको महत्व
सायद शब्दमा वयान गर्न असम्भव नै छ । त्यस्तै विना स्वार्थ अरुको सेवामा समर्पित
माझी दाईको नदि पार गराउने कार्य प्रशंसनीय र आदरयोग्य छ । जुनसुकै मुडमा भएको
अवस्थामा पनि सायद यी कुरामा ध्यानाकर्षण हुँदा अशान्त मन पनि क्रमशः शान्तिको
मार्ग तर्फ मोडिन पुग्दछ ।
जीवनरुपि डुङ्गालाई गन्तब्य सम्म पुर्याउनका
लागि मार्गदर्शन गर्ने र माझीदाईले नदिको
भेलबाट जोगाएर किनारा सम्म पुर्याउन डुङ्गा खियाए झैं जीवनका बाधा व्यवधान र
अड्चनहरुसँग जुध्ने ज्ञान, सीप र अभिवृद्धि प्रदान गरी एउटा सवल र सक्षम नागरिक
तयार गर्ने पात्र हुन् गुरु । गुरु माझी दाई भन्दा पनि अझ धेरै महत्वपूर्ण हुने
गर्दछन् हरेकको जीवनमा किनभने माझीदाईले परेका बेलामा सहयोग गरेर नदि पार गराउने
हो तर गुरुले जीवनका हरेक पाटा र पक्षमा देखापरेका र पर्न सक्ने सम्पूर्ण जटिलतामा
सहजीकरण गरेका हुन्छन् । गुरुले प्रदान गरेका ज्ञान पुस्तान्तरण हुँदै अमर रहन्छन्
।
सिकाउने व्यक्ति गुरु हो । अहिले हामी गुरुलाई
शिक्षक भन्ने गर्दछौं । कहिँ कहिँ शिक्षकलाई मास्टर साहेव पनि भन्ने गरिन्छ । जे
नामले पुकारे पनि वहाँको काम ज्ञान, सीप र अभिवृद्धि मार्फत जीवनको मार्गनिर्देश
गर्नु नै हो । त्यसैले त हामी हाम्रा शिक्षक या गुरुहरुलाई आदर गर्ने गर्दछौं ।
जीवन भोगाइका क्रममा पटक पटक हामी गुरुको आदर्शको स्मरण गर्दछौं र आफू चेलो हुन
पाएकामा भाग्यमानी ठान्छौं र गर्व गर्छौं । वास्तवमा अहिलेको हाम्रो अस्तित्व र
पहिचान हाम्रा गुरुहरुकै उपज त हो ।
आदरणिय गुरुहरुको आदर्श बोकेर हिड्दै गर्दा आज
म पनि आफूलाई एउटा आत्मनिर्भर नागरिकका रुपमा स्थापित गर्न सफल भएको छु । मलाई
उपयुक्त समयमा उपयुक्त ज्ञान, सीप र अभिवृद्धि प्रदान गरी जीवन जीउनका लागि काविल
गराउनु हुने सम्पूर्ण गुरुहरुमा साष्टाङ्ग दण्डवत ।
साँच्चै गुरु महान हुनुहुन्छ । वहाँले कुनै
किसिमको भेदभाव नगरी सबै शिष्यहरुलाई उनीहरुको चाहना, आकांक्षा र क्षमता बमोजिमको
सिकाइ वातावरण सृजना गरि सदैव लक्ष प्राप्तिका लागि पथप्रदर्शन गरेर देशलाई आवश्यक
पर्ने जनशक्ति निर्माण गर्नु भयो । त्यसैले गुरुलाई हामी निर्माताका रुपमा पूजा
गर्दछौं ।
सिकाउने वा सिकाइ प्रकृयामा सहजीकरण गर्ने
व्यक्ति सिकाइको स्रोत हो । यहि स्रोतको उपयोग गरेर हामी आज कोहि प्राविधिक
जनशक्ति त कोहि अप्राविधिक जनशक्तिका रुपमा आफूलाई उभ्याउन सक्षम भएका छौं । देशको
नेतृत्वदायी भूमिका निर्वाह गर्ने स्थानमा आफूलाई पुर्याएर मानव सभ्यता विकासका
लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै छौं । यो सबै हाम्रा गुरुहरुको देन हो ।
गुरुको महिमा अपरम्पार छ । तर आधुनिक समाजमा
गुरुको महत्वलाई नजरअन्दाज गरिँदैछ । अर्थात् गुरु भन्ने शब्द त्यति सहजरुपमा
नागरिकका मुखारवृन्दमा आएको पाईंदैन । हुनत गुरु भनेका शिक्षक नै हुन् । शिक्षकलाई
गुरु भन्नै पर्छ भनेर भन्न खोजेको हैन । तथापि जुन आदर र सम्मान वहाँहरुले पाउनु
पर्ने हो, त्यसमा कमि भएको चाँहि पक्कै हो ।
शिक्षक जसलाई मास्टर साहेव वा मास्टर साप भनेर
भनिन्छ, आज मास्टर मात्र भएर बाँच्नु परेको छ । समाजमा शिक्षकहरुलाई त्यति
सकारात्मक रुपमा लिएको पाईंदैन । शिक्षक जसले नयाँ पिँढिलाई मार्गनिर्देश र
पथप्रदर्शन गर्ने गर्दछन्, लाई अन्य राष्ट्रसेवकको तुलनामा निकै नै विभेद गरिएको छ
। राज्य पनि शिक्षकहरु प्रति उदासीन बनेको देखिन्छ । छ्याङ्ग देखिने गरी अर्थात्
लाटाले पनि बुझ्ने गरी गरिने विभेदले पक्कै सिकाइ सहजीकरणको कार्यमा प्रोत्साहन र
उत्साह घटेर जाने निश्चित छ ।
आज नेतृत्वदायी तह र तप्कामा पुगेका सबै
शिक्षकहरु कै उत्पादन हुन् । आज सोच्नु आवश्यक छ कि म कस्तो नेतृत्वदायी भूमिका
निर्वाह गर्दै छु भनेर । नेतृत्व शिक्षक कै पथप्रदर्शनको उपज हो । उच्च नैतिक,
समयसापेक्ष, उत्तरदायी र कर्तव्यनिष्ठ नेतृत्व विकासको आधार नै शिक्षक र सिकाइ
सहजीकरण प्रकृया भएकाले यसलाई प्राथमिकतामा राखेर शिक्षकहरु माथि भएको विद्यमान
विभेदको अन्त्यको विकल्प छैन ।
अन्त्यमा, मलाई जीवनका विभिन्न कालखण्डमा मेरो
आवश्यकता बमोजिमको शिक्षा प्रदान गरी पथप्रदर्शन गर्नु हुने सम्पूर्ण गुरुहरुमा
नमन ।
(गोविन्द प्रसाद भट्टराई, शिक्षक, होमराज लोहनी
शारदा शिक्षा सदन मा.वि. भानु नगरपालिका २, नारेश्वरटार, तनहुँ)
Post a Comment