वैकल्पिक सिकाइ सहजीकरणका लागि समन्वय
विद्यालय शिक्षा कोरोना महामारीका कारण
नराम्ररी प्रभावित बनेको छ । भिडभाड नियन्त्रण महामारी नियन्त्रणका लागि पहिलो
सर्त भएका कारण विद्यार्थीको भौतिक उपस्थितिमा नियमित पठनपाठन गर्न सकिएको छैन ।
यो अवस्थामा वैकल्पिक सिकाइको नीतिगत निर्णय भए पनि औंलामा गन्न सकिने विद्यालयहरुमा
वाहेक अन्य विद्यलयहरुमा यसको कार्यान्वयन
भएको अवस्था छैन ।
विद्यालयको पहिलो नियमनकारी निकाय स्थानीय तह
हो । स्थानीय तहले नीतिगत रुपमा राष्ट्रियरुपमा घोषित वैकल्पिक उपायहरु अवलम्बनको
बाटो समाएको भए पनि स्थानीय परिवेश अनुकूल ठोस निर्णय नगर्दा र वैकल्पिक सिकाइ
कार्यक्रम सम्बन्धी विषयमा आवश्यक परामर्ष र मार्गनिर्देश हुन नसक्दा
विद्यार्थीहरु कसरी सिकाइ हुन्छ भन्ने कुरामा अनभिज्ञ नै छन् ।
दैनिक विद्यालय सञ्चालनको प्रमुख जिम्मेवारी विद्यालयको
नै हो । विद्यालयले आफ्नो परिवेश अनुकूल उपयुक्त विधि र पद्दतिको छनौट गरी त्यस
सम्बन्धी पूर्व तयारी गरी कार्यान्वयनमा ल्याउनु पर्ने हो । तर धेरै विद्यालयहरुले
यो विषयमा खासै गहन अध्ययन गरेको पाइएको छैन ।
विद्यार्थीको कक्षोन्नती भएको छ ।
विद्यालयहरुले भर्ना लिएका छन् । तर कहिले बाट के कसरी पठन पाठन हुन्छ भन्ने
विषयमा अझै अन्योलता कायम नै छ । वैकल्पिक उपायका रुपमा सबै तिर अनलाइन अर्थात्
भर्चुअल कक्षा सञ्चालनको रुझान सुनिन्छ । तर यसका लागि पूर्व तयारी भने कहिँ कतै
पाइने गरेको छैन ।
केहि पूर्वाधार भएका विद्यालयहरुमा समेत
भर्चुअल अर्थात् स्मार्ट सिकाइले खासै प्राथमिकता पाउन सकेको अवस्था छैन । आधुनिक
समाज क्रमशः स्मार्ट बन्दै गएको छ । हरेक क्षेत्रमा कम्प्युटर प्रविधिको प्रयोग
हुन थालेको छ । जीवन पद्धतिमा आमूल परिवर्तन भएको छ । समयसापेक्ष सिकाइ वातावरण
निर्माणका लागि सामान्य अवस्थामा पनि अब आधुनिक प्रविधिको प्रयोग अनिवार्य बन्दै
गएको अवस्था छ । अहिलेको अवस्था भनेको त महामारीको अवस्था हो । यसमा एक अर्का वीच
सामाजिक दूरी कारम गर्नै पर्ने भएकाले जोखिम न्यूनीकरणका लागि भर्चुअल कक्षा
सञ्चालन उपयुक्त विकल्प हुन आउँछ ।
भर्चुअल कक्षा सञ्चालनका लागि प्रविधिमा आधारित
ज्ञान, सीप र अभिवृत्ति पहिलो सर्त हो । अर्थात् शिक्षण पेसामा संलग्न
व्यक्तिहरुले प्रविधि सम्बन्धी सक्षमता विकास गर्नै पर्दछ । त्यसपश्चात्
विद्यार्थीहरुमा यसको पहुँच हुनु जरुरी छ । यसका लागि विद्यालय तथा अभिभावक दुबै
पक्षले पूर्वाधार निर्माणका लागि गृहकार्य गर्नु पर्दछ ।
पूर्वाधार विकासका लागि स्थानीय सरकार तथा तालुकदार निकाय जिम्मेवार नहुँदा सम्म विद्यालय एक्लैले सबै कार्य गर्न सक्दैन । त्यसैले अबको स्थितिमा विद्यालयमा निरन्तर सिकाइका लागि र सिकाइलाई थप परिष्कृत र परिमार्जित गरी सहज र सरल सिकाइ निर्माणका लागि विद्यालय, अभिभावक र तालुकदार निकाय वीच समन्वय हुनै पर्दछ ।
अनलाइन कक्षा सञ्चालनको कुरा आउँदा यसलाई प्रथम
दृष्टिमै असंभव छ भनेर प्रतिक्रिया दिइने गरेको पाइन्छ । यसो हेर्दा त्यस्तै लाग्छ
। अझ ग्रमिण क्षेत्रमा त झनै प्रविधिको सञ्चालन चुनौतीपूर्ण नै छ । अभिभावकहरुको
जीवनस्तर हेर्दा वहाँहरुबाट सहजरुपमा प्रविधियुक्त सिकाइका लागि आवश्यक सामग्री
व्यवस्थापनमा कठिनाई हुने देखिन्छ । यहि भएर होला शैक्षिक सत्र कसरी सम्पन्न हुन्छ
र कहिले बाट पठनपाठन शुरु हुन्छ भनेर अन्यौलता कायम रहे पनि यो विषयमा
सरोकारवालाहरुबाट खासै धेरै चिन्तन मनन र अध्ययन अनुसन्धान भएको छैन ।
बाटोघाटो, पुलपुलेसा, कुलो, पैनी, नहर आदिमा
अवरोध आउँदा सबैको ध्यान त्यता जाँदो रहेछ किनकि यसको असर तत्काल देखिँदो रहेछ ।
तर विद्यालयहरु बन्द भए पनि नियमित सञ्चालनमा कठिनाइ भए पनि यसको असर भविश्यमा
मात्र देखिने हुँदा यसमा खास चिन्ता र चासो नभएको सहज अनुमान गर्न सकिन्छ ।
विद्यार्थीहरुलाई असफल हुनु पर्छ कि भन्ने
मात्र चिन्ता । अर्थात् एउटा तह पार गरेर अर्को तहमा प्रवेश गर्न पाए खुशी हुने ।
पढेर होस् या नपढि । बस कक्षोन्नती भए पुग्ने । हुनतः विद्यालय तहमा अध्ययनरत
विद्यार्थीहरु बाल्यकालमै हुने हुँदा उनीहरुलाई निरन्तर सिकाइ र गुणस्तरीय सिकाइको
चिन्ता नहुनु अस्वभाविक हैन होला । खेल्ने उमेरका बालबालिका विद्यालय छुट्टी हुँदा
नै खुशी हुने गर्दछन् ।
खास अभिभावकहरुलाई धेरै चिन्ता र चासो हुनु
पर्ने हो । चिन्ता नै नभएको वा चासो नै नदिएको भनेर पनि भन्न त नमिल्ला । तथापि
वहाँहरुबाट पनि खास पहल कदमी हुन भने सकेको देखिँदैन । सायद नेपालमा पछिल्लो समयमा
प्राप्त भएको सिकाइ उपलब्धी, यसको सान्दर्भिकता र उच्च बेरोजगारी दरका कारण होला वहाँहरुमा पनि खास चासो कम हुँदै गएको । पढेर
पनि के काम ? यसले जीवननिर्वाहमा खास काम गर्न सकेको छैन । पैशा कमाउनका लागि
विदेश नै जाने हो वा काम नगरी सुख नै छैन, भन्ने मनोविज्ञानले सायद काम गरेको भान
हुन थालेको छ ।
अभिभावकहरुलाई समेत उचित सुझाब, सल्लाह र
परामर्ष दिएर विद्यार्थीहरुलाई सिकाइप्रति आकर्षित गराई व्यवहारिक दक्षता हासिल
गर्न मार्गनिर्देश गर्ने विशेष जिम्मेवारी बोकेका शिक्षकहरु, जसलाई लोकले गुरुको
दर्जा दिन्छ, बाट यो विषम परिस्थितिमा विकल्प का लागि सबैको अपेक्षा हुनु स्वभाविक
हो । तर शिक्षकहरुबाट पनि अपेक्षाकृत सहजीकरण हुन सकेको छैन । पदिय हैसियत
अनुसारको जिम्मेवारी हरेक राष्ट्रसेवकको कर्तव्य हो, चाहे सहज परिस्थिति होस् या
असहज । सहज परिस्थितिमा सेवा प्रदान गर्न सहज होला तर असहज परिस्थितिममा जटिल भए
पनि, असहज भए पनि असंभव भन्ने चैं पक्कै हुँदैन । तर यसका लागि काम प्रतिको
निष्ठा, लगाव र मेहनत आवश्यक पर्दछ ।
महामारीको समयमा भए गरेको सिकाइ सहजीकरणका
कार्यकलापको निष्पक्ष अवलोकन गर्दा पक्कै पनि शिक्षकहरुबाट जति जिम्मेवारी पूरा
हुनुपर्थ्यो त्यति नभएकै हो भन्नु अत्युक्ति नहोला ।
सिकाइ सहजीकरण उपयुक्त वातावरण निर्माण नगरी
संभव छैन र उक्त वातावरण निर्माण शिक्षक एक्लैले गर्न सक्दैनन् । झट्ट हेर्दा
लाग्दो हो शिक्षकहरुले चाहे गर्न सक्छन् । तर केहि गर्न सके पनि अन्य पक्षको साथ र
सहयोग विना सबै कार्य शिक्षकले एक्लै गर्न सक्दैनन् । वातावरण निर्माण पश्चात् पनि
शिक्षकबाट तोकिएको काम भएन भने बल्ल शिक्षकमाथि प्रश्न तेर्स्याउन मिल्ला । त्यसैले
शिक्षकले केहि गरेनन् । बसीबसी तलवमात्र खाए । भनेर भन्नु पूर्व शिक्षक कार्यरत
विद्यालयमा सिकाइ वातावरण निर्माणका लागि के कस्तो वातावरण छ भनेर हेर्नु उपयुक्त
होला ।
सिकाइलाई सहज सरल र उदेश्योन्मुख बनाउनका लागि
आधुनिक प्रविधिमा आधारित सिकाइ वातावरण उपयुक्त हुने भएकाले विकल्पका रुपमा डिजिटल
सिकाइलाई जोड दिन खोजिएको हो । यदि डिजिटल पद्धतिमा जानका लागि कठिनाइ हुन्छ भने
या असंभव नै हुन्छ भने पनि अन्य विकल्पहरु प्रयोगमा ल्याउन नसकिने होइन । यस्तो
अवस्थामा टोल शिक्षा उपयोगी हुन सकिन्छ । स्वास्थ्य सावधानी अपनाएर सीमित
विद्यार्थीको उपस्थितिमा निश्चित सिकाइ केन्द्रमा सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन
गर्न सकिन्छ । विद्यार्थीहरुलाई सिकाइ सामग्री निर्माण गरेर अभ्यास गराउन सकिन्छ ।
यस तर्फ विद्यालयहरुले विलम्ब नगरी कार्य गर्नु पर्दछ ।
सबैलाई भर्चुअल माध्यम संभव हुँदैन भनेर निचोड
निकाल्नु पूर्व वास्तविकरुपमा विद्यार्थीको अध्ययन गरी तथ्यगतरुपमा विवरण लिन र
उनीहरुलाई पनि कसरी यो माध्यममा क्रमशः जोड्न सकिन्छ भन्ने विषयमा विद्यालयहरु
संवेदनशील हुनु पर्दछ ।
नेपाल सरकारले घोषणा गरेका CUG लगायतका कार्यक्रमको सदुपयोग गर्नका
लागि विद्यालयहरुले तदारुकता देखाउनु पर्दछ । विद्यालयको नियमन र नियन्त्रण गर्ने तालुकदार
निकायले स्थानीय सरकारलाई पूर्वाधार विकासका लागि योजना निर्माण गरी कार्यान्वयन
गराउनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न सकेमा विषम परिस्थितिमा पनि क्रमशः
सिकाइलाई निरन्तरता दिन खास कठिनाई हुँदैन ।
कोभिड महामारीको यो विषम परिस्थितिमा वैकल्पिक
विधि प्रयोग गरेर निरन्तर सिकाइ सञ्चालनका लागि कुनै एक पक्षबाट मात्र संभव नहुने
हुँदा सबै सरोकारवाला पक्षा वीच सहयोग र समन्वय हुनु जरुरी छ । सबैको ध्यान जाओस्
।
(गोविन्द भट्टराई, शिक्षक, होरालो)
Post a Comment