Education Reform Forum

शैक्षिक सुधारमा समर्पित व्लग

 


Latest Post

 दुई वर्ष यता कोभिड संक्रमणका कारण देशको शैक्षिक क्षेत्र नराम्ररी प्रभावित बनेको छ । करीव डेढ वर्ष थला परेको शैक्षिक क्षेत्र क्रमशः कोभिड विरुद्धको खोपको आयात सँगै बामे सर्ने अवस्थामा पुगेकै बेला फेरी एकपटक कोभिडको नयाँ भेरियन्ट ‌ओमिक्रोनको नामबाट प्रभावित बन्दै छ ।

पहिलो लहर आयो । कसैले शैक्षिक क्षेत्रको बारेमा चिन्तन गर्ने फुर्सद नै पाएनन् । पहिलो लहर मथ्थर हुँदै गर्दा वैकल्पिक शिक्षण विधि र पद्धतिलाई खासै महत्व दिइएन । सबैको ध्यान परम्परागत शिक्षण पद्धति मै अल्झिन पुग्यो । कोभिड निस्प्रभावी बन्ला र विद्यालय खुल्लान् । कुनै पक्षबाट खास वैकल्पिक विधि र पद्धतिमा ध्यान दिइएन ।

छोटो समयको अन्तरालमा दोस्रो लहर जब आयो, तब वैकल्पिक शिक्षणका विषयमा वहस शुरु भयो । योजनाहरु बने । कार्यविधि निर्माण भयो । तर खास पूर्वाधार विकास हुन सकेन । भर्चुअल कक्षाहरु केहि खुले । तर यसमा विद्यार्थीको पहुँच पुर्‍याउन सकिएन । शिक्षकहरुमा सक्षमता विकासका लागि विद्यालयहरुले खास कार्य गर्न सकेनन् । केहि औपचारिकता निभाउन बाहेक खास उपलब्धी भयो भनेर भन्न सकिने अवस्था रहेन ।

यसो भनि रहँदा केहि पनि भएन भन्न भने खोजेको होइन । तथापि भएका उपलब्धिमा संतुष्ट हुने वा अपेक्षित उपलब्धि प्राप्त गर्ने अवस्था देखिएन । राज्यबाट वैकल्पिक शिक्षण योजना बने पनि कार्यान्वयन संयन्त्र फितलो भयो । फलस्वरुपः देशको शैक्षिक अवस्था क्रमशः सिथिल बन्दै गयो ।

आन्तरिक मूल्याङ्कनका नाममा विद्यार्थीहरु एक तह बाट अर्को तहमा क्रमशः स्तरोन्नती हुँदै गए । शैक्षिक सत्रहरु कुनै लम्बिए त कुनै छोटिने तर्क गरियो । जसरी हुन्छ विद्यार्थीको शैक्षिक वर्ष पूरा गर्ने ध्येय राखियो । तर कहिँ कतैबाट पनि चुनौतिका वीच कसरी उपेक्षित उपलब्धी हासिल गराउने भन्ने विषयमा गाम्भिर्यता देखाइएन । परिणामतः विद्यार्थीहरुको अवस्था दिनदिनै क्षीण हुँदै गयो । यसको ज्वलन्त उदाहरण हालसालै प्रकासित भएको कक्षा १२(२०७८) को बोर्ड परीक्षाको परीक्षाफललाई नियाले पुगिहाल्छ ।

विद्यार्थीहरुले कुनै एक कक्षा वा तहमा पूरा गर्नु पर्ने उपलब्धीहरु पूरा नगरी अर्को कक्षामा कक्षोन्नती भएकै कारण विद्यार्थीको स्तर खच्केको हो भन्ने कुरा स्पष्ट छ । यसको अर्थ औपचारिकताका नाममा या भनौं शैक्षिक सत्रलाई असर नपार्ने नाममा विना सिकाइ उपलब्धी कक्षोन्नती वर्तमानमा मात्र हैन भविश्यमा समेत घातक सिद्ध हुँदैछ ।

यसै वीच कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संत्रास फैलिएको छ । संक्रमण बढे सँगै राज्यले विद्यालय बन्द गर्ने घोषणा गरि सकेको छ । विद्यालय बन्द गर्नु भाइरस नियन्त्रण गर्नका लागि होला । भीडभाड नियन्त्रण गरी सामाजिक दूरी कायम गर्दै भाइरस संक्रमण दर न्यून गर्ने ध्येय होला । यो कोणबाट हेर्दा वर्तमानमा विद्यालय बन्द गर्ने कुरा ठिकै होला । तर यसले वर्तमानमा ओमिक्रोनले पुर्‍याउने वा पुर्‍याउन सक्ने असर भन्दा चौगुना असर भविश्यमा गर्नेछ ।

सरकार विद्यालय बन्द गरेर ओमिक्रोन नियन्त्रण गर्ने सपना देख्दैछ । अनि त्यहि सरकार बनाएका राजनैतिक दलहरु कार्यकर्ता र आम जनाता भेला गरी धमाधन अधिवेशन र महाधिवेशन गरेका गर्यै छन् । विद्यालयमा बालबालिका अध्ययन गर्दा भीडभाड हुने तर पार्टिका कार्यक्रमहरुमा भीडभाड नहुने जस्तो देखिँदैछ । भन्नुको तात्पर्य भीडभाड गर्न पाउनु पर्छ भन्ने होइन । सबै किसिमका भीडभाड बन्द गर्नु पर्छ भन्ने नै हो ।

विपदका समयमा सबै क्षेत्र प्रभावित हुने गर्दछन् । बन्द हुने गर्दछन् । तर शिक्षालयलाई कहिल्यै पनि बन्द गरिनु हुँदैन । यस क्षेत्रमा तत्काल विकल्पको आवश्यकता पर्दछ । त्यसैले विद्यालय बन्द गर्ने होइन, विद्यालय उपयुक्त विकल्प सहित सधैं खुल्ला गर्ने हो ।

मिति २०७८ पौष २५ र २६ को सबै विद्यालयहरु २०७८ माघ १५ सम्म बन्द गर्ने निर्णयले शैक्षिक क्षेत्रमा थप अन्योलता सृजना गरेको छ । विकल्पमा जाने कुरा त छ । तर यसको लागि कुनै तयारी गरिएको छैन । विकल्पका लागि पूर्वाधार विकासमा ध्यान दिइएको छैन । अर्थात् विकल्पका लागि पूर्वाधार एकदम कमजोर छ । जसले गर्दा विद्यालय बन्द भन्ने ठूलो हल्लाले विकल्प प्रयोग गरेर सिकाइ खुल्ला गर्ने कुरा ओझेलमा परेको छ ।तसर्थ विद्यालय बन्द होइन, सिकाइ निरन्तरताका लागि परिवेश सुहाउँदो विकल्प अनिवार्य गराउनु पर्दछ ।

गोविन्द प्रसाद भट्टराई

प्रधानाध्यापक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.

भानु नगरपालिका – २, तनहुँ ।

 

 

 

 

 

१ भाद्र २०७८

कर्म नगरी फल प्राप्त गर्न सकिदैन । राम्रो फल प्राप्तिका लागि कर्मले मात्र पनि पुग्दैन । कामप्रतिको लगाव र समर्पणले उच्चतम् लक्ष हासिल गर्नका लागि सहयोग गर्दछ । कामको नियमित हेरचाहले मात्र फलको सुनिश्चितता गर्दछ । परिश्रम र मेहनत नै उपलब्धिका द्योतक हुन् ।

कामको निरन्तरताले कार्यकुशलतामा निखारता ल्याउने गर्दछ ।काममा कौशलता सँगै उपलब्धिहरु सहजरुपमा प्राप्त गर्न सकिन्छ । काम गराइको तौरतरिकालाई परिस्कृत र परिमार्जन गर्दै उच्चतम् उपलब्धि हासिल गर्नका लागि काम प्रतिको इमान्दारीता, निष्ठा र सम्मान अपरिहार्य छ ।


सरसर्ती नेपाली समाजको पछिल्लो प्रवृत्तिगत चित्रलाई नियाल्ने हो भने कामप्रति इमान्दारीता र विश्वास गुम्दै गएको अवस्था छ । जीविकोपार्जन तथा परिवारको लालनपालनका लागि आवश्यक पर्ने आर्थिक व्यवस्थापनका लागि कुनै निश्चित पेसा र व्यवसायमा गरिने निरन्तर मेहनत भन्दा पनि मानिस कसरी सहजरुपमा धनआर्जन गर्न सकिन्छ भनेर विभिन्न बाटाहरु पहिल्याउन तर्फ मायुर देखिन थालेको छ । जसरी पनि धनार्जन गर्ने, पद र प्रतिष्ठा प्राप्त गर्ने अभिष्ट हावी हुँदा समाजमा चोरबाटो अवलम्बन गर्नेको संख्या बढ्दै गएको छ ।

वैयक्तिक विकासका लागि सामाजिक तथा सामूहिक सम्पत्तिको दोहन गर्ने कार्य अनिचित छ । अरुको हानी र नोक्सानीबाट आफू सबल बन्ने सोच मानवीय सोच होइन । अरुको पद र प्रतिष्ठमा चोट पुर्‍याएर आफू अगाडी बढ्छु भन्ने दृष्टि आफैंमा भ्रमपूर्ण छ । तथापि समाजमा यो प्रवृत्ति हावी हुँदै गएको छ ।

समाजमा उद्यमशीलता मर्दै गएको छ । जसले गर्दा हाम्रो जस्तो कृषिप्रधान देशको खेतीयोग्य जमीन बाँझिदै छ । प्राकृतिक स्रोत र सम्पदाहरु नासिँदै गएका छन् । सामाजिक रितीरिवाज र संस्कृति धरासाही बन्दैछ । सामाजिक सद्भाव, मेलमिलाप, सहयोग, सहकार्य र भाइचारा क्रमशः धुमिल हुँदै छ ।

सफलतामा आफ्नो क्षमतालाई मात्र अब्बल ठान्ने, अन्य पक्षहरुको साथ र सहयोगको नजरअन्दाज गर्ने र हरेक असफलतामा अरु कसैको हात रहेको भनी तथानाम गालीगलौज गर्न पछि नपर्ने प्रवृत्तिकै कारण आज मानिस धेरै नै असन्तुष्टि बोकेर बाँच्न विवश छ ।यसबाट व्यक्ति आफू मानसिक कुण्ठाका कारण अशान्त र छटपटीमा जीवन व्यतित गरिरहेको त छ नै, यसले अनावश्यक अरुलाई पनि सताइरहेको छ ।

इमान्दारीता सहितको उद्यमशीलता अनि कामप्रतिको विश्वास र सम्मान भएमा समाजमा यस्तो प्रवृत्ति क्रमशः कम हुँदै जान सक्छ  र हाँसीखुसी जीवन जीउने अवसर प्राप्त हुन सक्दछ ।

गोविन्द भट्टराई

(शिक्षक, होमराज लोहनी शारदा शिक्षा सदन मा.वि., भानु २, तनहुँ)

 

  

 ३० श्रावण २०७८

कोभिड जोखिम कायम नै रहँदा विद्यालय सञ्चालनको विषय कठिन  बन्दै गइरहेको छ । स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्न सकिने अवस्था अहिले सम्म देखिएको छैन । विगतका दुई शैक्षिक वर्षहरु व्यतित भइसकेका छन् । अबको बाटो के र कसरी विद्यालय सञ्चालन हुन्छन् भन्ने कुराको अहिले पनि उहि अन्योल कायम नै रहेको अवस्था छ ।


भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुन नसक्दा इन्टरनेटको माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गर्ने विकल्प आइरहँदा यसलाई कार्यान्वयनका लागि आवश्यक तयारी हुन सकिरहेको छैन । प्रायः विद्यालयहरुले अनलाइन कक्षालाई परीक्षणमा ल्याए पनि यो केवल औपचारिकता निभाउनमा मात्र केन्द्रित देखिन्छ ।

शिक्षकले कामै नगरी तलवभत्ता खाए भन्ने आरोपबाट बच्नका लागि मात्र अनलाइन कक्षाको दुहाइ दिएर पुग्दैन । यसमा धेरै नै जटिलता छन् । ती जटिलताहरुलाई न्यूनीकरण गरी अबको बाटो के हुने भन्ने विषयमा एउटा ठोस निर्णय लिएर कार्यान्वयनमा जान ढिला भइसकेको छ ।

अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार विकास हुनु पर्दछ । खासमा विद्यालयले अनलाइन कक्षाका लागि कक्षा सञ्चालन गरेर मात्र पुग्दैन । यसलाई प्रभावकारी बनाएर सबै विद्यार्थीहरुको पहुँचमा पुर्‍याउनका लागि व्यापक तयारी गर्नु पर्दछ ।

विद्यालयले आफ्ना नानीबाबुहरुको इन्टरनेटमा पहुँच भए नभएको स्थलगत अनुगमन गरी वास्तविकता पत्ता लगाउने कार्य अनलाइन कक्षा सञ्चालनको पहिलो कार्य हो । के कस्तो सुविधा छ या छैन ? जुम, टिम, मिट, आदि लगायतका माध्यमबाट कक्षामा सहभागिता सम्भव छ या छैन ? सामाजिक सञ्जाल कत्तिको प्रभावकारी हुन सक्दछ ? या यी दुबै सम्भव छैन ? अन्य विकल्प के के हुन सक्दछन् ? डिजिटल सामग्री निर्माण र प्रयोगमा के कस्ता समस्याहरु छन् ? अफलाइन सामग्रीहरु कत्तिको प्रभावकारी हुन सक्लान् ? अर्थात् कति प्रतिशत विद्यार्थीहरु कुन विकल्पमा समाहित हुन सक्छन् र कुनै पनि विकल्पमा सहभागी हुन नसक्ने विद्यार्थीको खास संख्या कति छ ? र तिनीहरुलाई उपयुक्त विकल्पमा पहुँच पुर्‍याउनका लागि के गर्नु पर्दछ ? भन्ने विषयमा अध्ययन नगरी सञ्चालन हुने कार्यक्रमहरु पक्कै पनि औपचारिकतामा मात्र सिमित हुन्छन् ।

के स्पष्ट हुन्छ भने अबको विषम परिस्थितिमा वैकल्पिक विधि अबलम्वन गर्नका लागि व्यापक तयारी आवश्यक छ । तर यो तयारी कसले गर्ने हो ? शिक्षकले ? विद्यार्थीले ? अभिभावकले ? विद्यालयले ? या कस्ले ?

पक्कै पनि कुनै एक पक्षबाट मात्र भएका प्रयासले सफलता प्राप्त हुँदैन । यसमा विद्यालयसँग अर्थात् विद्यालयीय गतिविधिहरुसँग सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक हुन्छ । प्रथम जिम्मेवारी त विद्यालयकै हो । तर विद्यालयले सबै पक्षसँग सहकार्य गरेर विकल्प दिनका लागि व्यापक छलफल, अन्तरक्रिया र सहकार्यको वातावरण सृजना गर्नु पर्दछ ।

अनलाइन लगायतका वैकल्पिक विधि र पद्धति बाट नियमित कक्षा सञ्चालन गर्नका लागि प्रथमतः विद्यालयले आफ्नो सेवाक्षेत्रको वस्तुस्थिति आँकलन गर्नु पर्दछ । कति प्रतिशत विद्यार्थीहरु कुन विकल्पको पहुँचमा छन् र कति कुन मा ? भन्ने तथ्याङ्क पहिलो कुरा हो । दोस्रो विद्यालयले कुनै पनि पहुँचमा पुग्न नसक्नेलाई कसरी उनीहरुमा पहुँचको सुनिश्चितता गर्न सकिन्छ भन्ने नै हो । यसका लागि विद्यालय सेवा क्षेत्र भित्र अवस्थित सरकारी निकायहरु,  टोल विकास संस्था, आमा समूह, यूवा क्लबहरु, सामुदायिक वन उपभोक्ता समितिहरु लगायतका सामाजिक सँघसंस्थाहरुसँग प्रतक्ष छलफल र परामर्ष गरी  साथ र सहयोग प्राप्त गर्ने वातावरण निर्माण गर्न सकिन्छ । अभिभावकहरुलाई अबको सिकाइ प्रकृयाको बारेमा अवगत गराई सबैको साथ र सहयोग लिने वातावरण सृजना गर्न सकेमा इन्टरनेटको माध्यमबाट सञ्चालन गरिने वैकल्पिक कक्षा सञ्चालनमा केहि सहजता प्राप्त हुन सक्दछ ।

जब कार्यक्रमहरु सहभागीतामूलक हुन्छन् तब त्यसले अपनत्व ग्रहण गर्दछ र सफलता प्राप्त गर्ने दिशा तर्फ उन्मुख हुन्छन् । वैकल्पिक विधि अर्थात् भर्चुअल कक्षा सञ्चालनका लागि विद्यालयले तयारी कार्य पूरा गर्नै पर्दछ । यसका लागि विद्यालयले सम्बन्धित सबै पक्षको सहभागीतामा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नु पर्दछ ।

वैकल्पिक विधिको प्रयोगकर्ताका लागि आवश्यक पर्ने ज्ञान र सीप विकासका लागि यथोचित वातावरण विद्यालयले निर्माण गर्नका लागि ढिला गर्नु हुँदैन । आधुनिक प्रविधिको विकास सँगै धेरै अनलाइन अफलाइन एप्लिकेसनहरुको विकास भइसकेको छ । शिक्षण सिकाइ कृयाकलाप कम्प्युटरबाट मात्र होइन, हात हातमा बोकेर हिड्ने मोवाइल फोनबाट पनि सजिलो सँग गर्न सकिन्छ । यसका लागि विद्यालयले सम्पूर्ण शिक्षकहरुलाई यथाशीघ्र प्रविधिमा आधारित तालिमको व्यवस्था गर्नु पर्दछ ।

विद्यार्थी तथा अभिभावकहरुलाई समेत आवश्यक परामर्ष दिइ सहजीकरण गर्न सकेमा क्रमशः नयाँ प्रविधिले सिकाइमा प्रवेश पाउँदछ र सिकाइ सहज र प्रभावकारी बन्दै जान्छ । अहिलेका विद्यार्थीहरु प्रविधिमा अभ्यस्त छन् । यदि छैनन् भने पनि उनीहरुले अवसर प्राप्त गर्ने हो भने छिटो सिकाइ गर्न सक्दछन् । त्यसैले यो अवसर सिकाइमा सृजना गर्नु उपयुक्त हुन्छ ।

कोभिड संक्रमणको निराकरण गर्न नसकिरहँदा र कहिले सम्म यो जोखिम कायम हुन्छ भनेर आंकलन गर्न नसकिरहँदा  ढिलो चाँडो प्रविधि भन्दा बाहेक अन्य विकल्प प्रयोग गर्न सक्ने अवस्था नआउन सक्छ । यसको बेलैमा पूर्वानूमान गरी प्रविधि प्रयोगमा सवलीकरण गर्दै जाने हो भने यो र यस्तै विषम परिस्थितिमा पनि नियमित सिकाइ सञ्चालन गर्न असम्भव भने पक्कै हुँदैन ।

गोविन्द भट्टराई

शिक्षक

होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. 

भानु नगरपालिका २, तनहुँ ।

 १६ श्रावण २०७८

विमर्श विकल्पको पहिचान गर्ने आधार हो । कुनै पनि विषयमा हुने गहन विचार र विमर्शले उक्त विषयमा देखा परेका र देखापर्न सक्ने चुनौतीहरुको पहिचान गरी त्यसको न्यूनीकरणका लागि कुनै ठोस योजना निर्माण र कार्यान्वयनका लागि मार्गनिर्देश गर्दछ । हरेक क्षेत्रमा हुने सहि विचार विमर्श र छलफलले तत् क्षेत्रको विकास र समुन्नतीका लागि मार्गप्रशस्त गर्ने गर्दछ । यहाँ शैक्षिक क्षेत्रमा हने गरेको शैक्षिक विमर्शको अवस्थाका विषयमा चर्चा गर्ने जमर्को गरिएको छ ।


शिक्षा क्षेत्र जीवनका विभिन्न क्षेत्र मध्येमा सबै भन्दा महत्वपूर्ण क्षेत्र हो भन्नेमा कुनै दुईमत छैन । सबै क्षेत्रको पूर्वाधार विकासमा यसको अतुलनीय योगदान हुन्छ । समयसापेक्ष उच्च नैतिक, कर्मशील, उद्यमशील, परिश्रमी र दक्ष नागरिक निर्माण गर्न शिक्षा आवश्यक छ । नवनागरिकहरुको भविश्यको रेखाङ्कन गर्ने कार्य शिक्षाले गर्ने भएकाले यो क्षेत्र अन्य क्षेत्रभन्दा बढि संवेदनशील छ । वर्तमानमा पर्ने कुनै पनि किसिमको वाधा र व्यवधानले तत्कालीन रुपमा मात्र नभई दीर्घकालीनरुपमा समेत असर पुर्‍याउने भएका कारण यो क्षेत्रलाई अति संवेदनशील भएर यथोचित सुझबुझ र विचार विमर्श गरी गतिशील बनाउनु पर्दछ ।

सरोकारवाला, सञ्चालनकर्ता र विज्ञ विचको निरन्तर विचार विमर्श र छलफलबाट शैक्षिक कार्यक्रम सञ्चालन भएमा सिकाइलाई सहज, सरल, प्रभावकारी र उदेश्योन्मुख बनाउन मद्दत पुग्दछ । तर शैक्षिक कार्यक्रमहरुको कार्यान्वयनका चरणमा खासै विचार विमर्श हुन नसक्दा शैक्षिक कार्यक्रमहरुको कार्यान्वयन क्रमशः फितलो हुँदै गएको छ । राष्ट्रिय मापदण्डका आधारमा स्थानीय परिवेश अनुकूल शैक्षिक कार्यक्रम सञ्चालनहन नसक्दा खासगरी विद्यालय तहमा सञ्चालन भएको शिक्षा माथि नै प्रश्न उठ्न थालेको छ ।

जब शिक्षाले जनजीविकामा खास टेवा पुर्‍याउँदैन, त्यतिबेला शिक्षा प्रतिको आशा र भरोशा कमजोर बन्दै जाने गर्दछ । अर्थात्, निरन्तरको कमजोर सिकाइ उपलब्धिले निराशा पैदा गर्दछ र समग्र सिकाइ पद्दतिमै प्रश्न चिन्ह खडा हुने गर्दछ । अहिलेको वर्तमान विद्यालय तहको सिकाइलाई हेर्ने हो भने यसबाट खास आशा र भरोसा गर्न सकिने अवस्था ह्रास हुँदै गएको आभास हुन्छ ।

संघियता लागू भएसँगै विद्यालयीय शिक्षा स्थानीय सरकार मातहत छ । विद्यालय सञ्चालन, नियमन र नियन्त्रणमा स्थानीय सरकारहरुले आफू अनुकुल विनियम बनाए पनि खासगरी शैक्षिक विकासको मेरुदण्ड गुणस्तरीय सिकाइका लागि यथोचित व्यवस्थापन गर्ने गरेको पाईंदैन । यसको प्रमुख कारण शैक्षिक योजना निर्माण र कार्यान्वयनमा सरोकारवालाहरु विच यथोचित विचार र विमर्श नहुनु नै हो ।

विद्यालयको वास्तविक अवस्था के हो ? के आवश्यक छ ? भन्ने कुराको हेक्का नराखी पहुँचका आधारमा हुने योजना बाँडफाँडले वास्तविक आवश्यकता परिपूर्ती हुन नसकेको मात्र होइन धेरै योजनाहरु अलपत्र समेत परेको अवस्था छ । खासगरी विद्यालयहरुको ध्यान आवश्यक भए पनि या नभए पनि विद्यालयको भौतिक विकास र यसमा पनि नयाँ संरचना निर्माणमा मात्र केन्द्रित हुँदा गुणस्तरीय शिक्षाका लागि उपयुक्त शैक्षिक वातावरण निर्माण कार्य छायाँमा परेको प्रतित हुन्छ ।

नयाँ संरचना थप गर्नु नराम्रो कुरा होइन । तर भएका संरचनाको सदुपयोग गरेर उच्चतम् लक्ष हासिल गर्ने दिशातर्फ नजाँदा सम्म नयाँ संरचना थप या विस्तारले खास अर्थ राख्दैन । समयसापेक्ष सिकाइ वातावरण निर्माणका लागि नयाँ संरचना आवश्यक छ तर संरचनाको यथोचित उपयोग भने हुनै पर्दछ । धेरै विद्यालयमा नयाँ नयाँ कार्यक्रमहरु स्थापित भए पनि तिनीहरुको सदुपयोग भने हुन सकेको अवस्था छैन ।

विद्यालय तहको शिक्षालाई स्थानीय तह अन्तरगत राख्नुको उदेश्य स्थानीय परिवेश अनुकूल सिकाइ वातावरण निर्माण गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने शिक्षाको उद्देश्य सहजढंङ्गबाट पूरा गर्नका लागि हो ताकि स्थानीय अवस्था र परिस्थिति अनुसार सबैलाई अनुकूल हुने गरी शैक्षिक रणनीति र कार्यनीति निर्माण गर्न सकियोस् । तथापि स्थानीयस्तरमा यो विषयमा खास विचार विमर्श अपेक्षाकृतरुपमा हुन सकेको छैन ।

स्थानीय सरकारको सबै भन्दा तल्लो निकायको रुपमा हेरक टोल टोलमा टोलविकास संख्थाहरु स्थापित भएका छन् । टोल विकास सँस्थाका पदाधिकारीहरु विच आफ्नो टोलमा भएका विद्यालयहरुको शैक्षिक उन्नती र प्रगतिका विषयमा साँच्चै भन्ने हो भने विचार विमर्श नै हुने गरेको पाईंदैन । विद्यालयको आवश्यकता के हो र कसरी विद्यालयीय शिक्षालाई गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषय त परको कुरा आफ्नै टोलमा आएर विद्यार्थीहरुले गर्ने गरेका उनीहरुले गर्न नहुने कृयाकलापहरु भइरहँदा समेत टोल विकास सँस्थाहरु प्रायः मौन नै देखिने गरेका छन् ।

विद्यालय सञ्चालनमा प्रतक्षरुपमा भूमिका निर्वाह गरेको स्थानीय सरकारको निकाय वडा कार्यालयको ध्यान पनि त्यति धेरै शैक्षिक विकासमा भएको पाईंदैन । वडा कार्यालयहरुले विद्यालयीय विकासका लागि हरेक बर्ष बजेट विनियोजन गरे पनि उक्त बजेट सिकाइ वातावरण निर्माण गरी दैनिक पठनपाठनलाई सुदृढ र प्रभावकारी बनाउनेमा भन्दा पनि भौतिक संरचना निर्माणमा नै बढि केन्द्रित हुने गरेको पाइएको छ । शैक्षिक गुणस्तर अभिवृद्‍धिका लागि सञ्चालित कार्यक्रमहरु अन्य कार्यक्रमका तुलनामा अत्यान्तै न्यून हुने गरेका छन् । नयाँ कार्यक्रमहरु प्रस्तवित हुने क्रममा स्थानीय दलका प्रतिनिधि या प्रमुखहरु विच विचार, विमर्श र छलफल नहुने होइन तर उक्त छलफलमा शिक्षा क्षेत्रले प्राथिमकता पाउने गरेको छैन । बाटोघाटो, पुलपुलेसा, सामुदायिक भवन, मन्दिर, मस्जिद, आदि विषय नै प्राथमिकतामा पर्ने गरेको पाइन्छ । फगत औपचारिकताका लागि शिक्षा क्षेत्र अर्थात् विद्यालयहरुले विषय प्रवेश पाए भने योजना निर्माण नयाँ भौतिक संरचना खासगरी विद्यालयमा भवन निर्माणमा नै केन्द्रित हुने गरेको पाइन्छ ।

खासगरी शिक्षाका नियामक निकायहरुबाट विद्यालयीय शैक्षिक वातावरणको अवलोकन गरी भएका संरचना र सामग्रीको उच्चतम् उपयोगको रणनीति अवलम्बन गर्नु पर्ने हो ताकि भएका सामग्रीको उपयोग गरी उच्चतम् उपलब्धी हासिल गर्न सकियोस् । तर यो मानेमा जति हुनु पर्ने हो त्यति पक्कै भएको छैन । विद्यालयहरुमा नयाँ संरचना स्थापित भए सँगै प्रयोगमा ल्याउन सकिने पुराना संरचनाहरु क्रमशः विस्थापित हुँदै जाने परिपाटी हावी हुँदै गएको छ । विद्यालय संयन्त्रले सामग्रीहरुको मर्मतसंहार, संरक्षण र सदुपयोग गर्नु पर्ने हो । तर यो हुन सकिरहेको छैन ।

विद्यालयमा नियमित शिक्षक स्टाफ बैठकहरु सञ्चालन हुन्छन् । तर ती वैठकहरुमा औपचारिकरुपमा कसरी तोकिएका कार्यक्रमहरु सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुने भए पनि शैक्षिक गुणस्तर अभिवृद्‍धिका लागि खास विचार विमर्श हुँदैन । विद्यालयीय कृयाकलाप औपचारिकतामा सिमित हुँदा शिक्षाको गुणस्तर क्रमशः ह्रास हुँदै गएको छ ।

शिक्षकको वृत्ति विकास र हक अधिकारको संरक्षण र सुनिश्चितताका लागि स्थापित पेसागत सँघ संगठनहरुको ध्यान पदिय दायित्व र जिम्मेवारीका लागि आवश्यक वृत्ति विकासमा भन्दा पनि हक अधिकारको सुनिश्चिततामा केन्द्रित हुँदा शिक्षकको पदिय दायित्व र जिम्मेवारी छायाँमा पर्दै गएको छ । आफ्ना हक र अधिकारका लागि स्थापित सँघ संगठनहरुबाट सोचेको उपलब्धी प्राप्त भएन भने नयाँ सँघ संगठन गठन गरेरै भए पनि अधिकारका लागि लड्ने प्रवृत्ति हावी हुँदै गएको छ । हक र अधिकारको सुनिश्चितता हुनु पर्दछ, शिक्षकलाई विभेद गरिनु हुँदैन । तर शिक्षक आफ्नो पेसाप्रति प्रतिबद्ध र कटिबद्ध हुनै पर्दछ ।

पछिल्लो समय शिक्षकको एक समूहले ल्याएका कार्यक्रमहरु अर्को समूहका लागि अपच्य भएर सामाजिक सञ्जालहरुमा छरपष्ट भएको देखिँदैछ । एकले अर्कालाई हिलो छ्यापाछाप गरेर पक्कै पनि अपेक्षित लक्ष पूरा हुन सक्दैन भन्ने तथ्य शिक्षक जस्तो बौद्‍धिकवर्गले नबुझ्नु बिडम्बना हो । वृहत शिक्षक एकता विना हक र अधिकारका लागि जति संघर्ष गरे पनि प्राप्त गर्न त्यति सहज नहोला । तथापि यहि अवस्थाबाट अहिले हामी गुज्रीनु परिरहेको छ । यो हुनुमा शिक्षकहरुका विचमा यथोचित विचार विमर्श हुन नसक्नु नै हो । तसर्थ, समान हक र अधिकारका लागि शिक्षकहरु विच गहन छलफल र विचार विमर्श आवश्यक छ ताकि एकताबद्ध भएर आवाज बुलन्द गर्न सकियोस् ।

विद्यालयीय विकास सबै सरोकारवालाको साझा उदेश्य हो । सबै पक्षको साथ र सहयोग विना यो संभव छैन । विद्यालयीय शिक्षालाई उदेश्योन्मुख बनाउनका लागि  विभिन्न आयामहरुका विषयमा यथोचित विचार विमर्श अहिलेको आवश्यकता हो ।

(गोविन्द भटटराई, शिक्षक, होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.)

 आदरणीय अभिभावक ज्यू

नमस्कार ।

अहिले कोभिड १९ को प्रकोपका कारण विद्यालयहरु सहजरुपमा खुलेर विद्यार्थीहरुको भौतिक उपस्थितिमा पढनपाठन कार्य सञ्चालन गर्न नसकिएको यथार्थ यहाँ सामु छ । कोभिड १९ महामारीको दोस्रो लहर केहि मथ्थर भएको अनुभूति गर्न नपाउँदै पुनः तेस्रो लहरको सम्भाव्यताको चेतावनी स्वास्थ्य विज्ञहरुबाट  हुन थालेको छ । 

जोखिम कायम नै भएर नै होला अझ पनि जिल्ला प्रशाशन कार्यालयले निषेधाज्ञा कायम नै राखेको छ । कति समय सम्म यो अवस्था लम्बिने हो यसै भन्न सकिने अवस्था छैन । यस वीच नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । यहाँका नानीबाबुहरुलाई विद्यालयमा भर्ना गरेको पनि धेरै नै भइसक्यो । अब कसरी पठनपाठन हुन्छ भन्ने विषयमा हजुरहरुमा चासो र चिन्ता हुनु स्वभाविकै हो ।


यहि अन्योलतालाई निवारण गर्न र विद्यालयमा नियमित पठनपाठन को कार्य गर्नका लागि हाम्रो विद्यालयले वैकल्पिक सिकाइ पद्धतिलाई अंगिकार  गरेर मिति २०७८ श्रावण ११ गते बाट कक्षाहरु सञ्चालन गरिरहेको छ । हाललाई वैकल्पिक कक्षा सञ्चालनका लागि कक्षा ६ देखि १० सम्ममा विद्यार्थीहरुलाई अनलाइन कक्षाको व्यवस्था मिलाइएको छ  भने कक्षा शिशु देखि पाँच सम्मका नानीबाबुहरुका लागि स्वास्थ्य सावधानी अपनाएर पालो गरेर विद्यालयमा नै सिकाइ केन्द्र स्थापना गरि कक्षा सञ्चालन भइरहेको छ । 

आफ्ना नानीबाबुहरुलाई उक्त कक्षाहरुमा सहभागी गराइ नियमित कक्षा सञ्चालन गरी निरन्तर सिकाइ गर्नका लागि यहाँको साथ र सहयोग अपरिहार्य छ । कक्षा पाँच सम्मका नानीबाबुहरुलाई तोकिएको दिनमा विद्यालयमा पूर्ण स्वास्थ्य साबधानी अपनाएर पठाइ दिन हुन र अन्य कक्षाका नानीबाबुहरुलाई अनलाइन कक्षामा सहभागी हुने वातावरण मिलाइदिन हुन हामी हार्दिक अनुरोध गर्दछौं । 

अनलाइन कक्षाका लागि पहुँचको अवस्था जटिल छ । धेरै नै समस्या छ । हाम्रो गाउँघरमा पूर्वाधार कै अभाव छ । यस्तो अवस्थामा अनलाइन कक्षामा कसरी समावेश हुने भन्ने प्रश्न उब्जिनु अस्वभाविक होइन । तर पनि यो विषम परिस्थितिमा कक्षा सञ्चालन गर्न नसके नानीबाबुहरुको भविश्यलाई नै असर पर्ने भएकाले अनलाइन कक्षा सञ्चालन गर्नु हाम्रो बाध्यता हो । यो बाध्यतालाई आत्मसात गरेर हामी अगाडी बढ्नुको विकल्प छैन । तसर्थ आफ्ना नानीबाबुहरुलाई कक्षामा सहभागी हुने वातावरण निर्माण गरिदिन हुन र कक्षामा सहभागि हुँदा उनीहरुको सिकाइ कृयाकलापको नजिकबाट अवलोकन गरिदिन हुन हार्दिक अनुरोध छ ।

हामीले जुम एपबाट अनलाइन कक्षा सञ्चालन गर्दै आएका छौं । अनलाइन कक्षामा सहभागि हुँदका बखत कुनै किसिमको समस्या देखा परेमा हामीलाई जानकारी गराउन हुन पनि यहाँलाई अनुरोध गर्दै नानी बाबुहरुको पठनपाठनको समय तालिका तथा हामी अध्यापकहरुको जुम आइडि र पासकोड तपशील बमोजिम रहेको जानकारी गराउँदछौं । 






 

वैकल्पिक सिकाइ सहजीकरणका लागि समन्वय

विद्यालय शिक्षा कोरोना महामारीका कारण नराम्ररी प्रभावित बनेको छ । भिडभाड नियन्त्रण महामारी नियन्त्रणका लागि पहिलो सर्त भएका कारण विद्यार्थीको भौतिक उपस्थितिमा नियमित पठनपाठन गर्न सकिएको छैन । यो अवस्थामा वैकल्पिक सिकाइको नीतिगत निर्णय भए पनि औंलामा गन्न सकिने विद्यालयहरुमा वाहेक अन्य  विद्यलयहरुमा यसको कार्यान्वयन भएको अवस्था छैन ।

विद्यालयको पहिलो नियमनकारी निकाय स्थानीय तह हो । स्थानीय तहले नीतिगत रुपमा राष्ट्रियरुपमा घोषित वैकल्पिक उपायहरु अवलम्बनको बाटो समाएको भए पनि स्थानीय परिवेश अनुकूल ठोस निर्णय नगर्दा र वैकल्पिक सिकाइ कार्यक्रम सम्बन्धी विषयमा आवश्यक परामर्ष र मार्गनिर्देश हुन नसक्दा विद्यार्थीहरु कसरी सिकाइ हुन्छ भन्ने कुरामा अनभिज्ञ नै छन् ।

दैनिक विद्यालय सञ्चालनको प्रमुख जिम्मेवारी विद्यालयको नै हो । विद्यालयले आफ्नो परिवेश अनुकूल उपयुक्त विधि र पद्दतिको छनौट गरी त्यस सम्बन्धी पूर्व तयारी गरी कार्यान्वयनमा ल्याउनु पर्ने हो । तर धेरै विद्यालयहरुले यो विषयमा खासै गहन अध्ययन गरेको पाइएको छैन ।

विद्यार्थीको कक्षोन्नती भएको छ । विद्यालयहरुले भर्ना लिएका छन् । तर कहिले बाट के कसरी पठन पाठन हुन्छ भन्ने विषयमा अझै अन्योलता कायम नै छ । वैकल्पिक उपायका रुपमा सबै तिर अनलाइन अर्थात् भर्चुअल कक्षा सञ्चालनको रुझान सुनिन्छ । तर यसका लागि पूर्व तयारी भने कहिँ कतै पाइने गरेको छैन ।

केहि पूर्वाधार भएका विद्यालयहरुमा समेत भर्चुअल अर्थात् स्मार्ट सिकाइले खासै प्राथमिकता पाउन सकेको अवस्था छैन । आधुनिक समाज क्रमशः स्मार्ट बन्दै गएको छ । हरेक क्षेत्रमा कम्प्युटर प्रविधिको प्रयोग हुन थालेको छ । जीवन पद्धतिमा आमूल परिवर्तन भएको छ । समयसापेक्ष सिकाइ वातावरण निर्माणका लागि सामान्य अवस्थामा पनि अब आधुनिक प्रविधिको प्रयोग अनिवार्य बन्दै गएको अवस्था छ । अहिलेको अवस्था भनेको त महामारीको अवस्था हो । यसमा एक अर्का वीच सामाजिक दूरी कारम गर्नै पर्ने भएकाले जोखिम न्यूनीकरणका लागि भर्चुअल कक्षा सञ्चालन उपयुक्त विकल्प हुन आउँछ ।

भर्चुअल कक्षा सञ्चालनका लागि प्रविधिमा आधारित ज्ञान, सीप र अभिवृत्ति पहिलो सर्त हो । अर्थात् शिक्षण पेसामा संलग्न व्यक्तिहरुले प्रविधि सम्बन्धी सक्षमता विकास गर्नै पर्दछ । त्यसपश्चात् विद्यार्थीहरुमा यसको पहुँच हुनु जरुरी छ । यसका लागि विद्यालय तथा अभिभावक दुबै पक्षले पूर्वाधार निर्माणका लागि गृहकार्य गर्नु पर्दछ ।

पूर्वाधार विकासका लागि स्थानीय सरकार तथा तालुकदार निकाय जिम्मेवार नहुँदा सम्म विद्यालय एक्लैले सबै कार्य गर्न सक्दैन । त्यसैले अबको स्थितिमा विद्यालयमा निरन्तर सिकाइका लागि र सिकाइलाई थप परिष्कृत र परिमार्जित गरी सहज र सरल सिकाइ निर्माणका लागि विद्यालय, अभिभावक र तालुकदार निकाय वीच समन्वय हुनै पर्दछ ।


अनलाइन कक्षा सञ्चालनको कुरा आउँदा यसलाई प्रथम दृष्टिमै असंभव छ भनेर प्रतिक्रिया दिइने गरेको पाइन्छ । यसो हेर्दा त्यस्तै लाग्छ । अझ ग्रमिण क्षेत्रमा त झनै प्रविधिको सञ्चालन चुनौतीपूर्ण नै छ । अभिभावकहरुको जीवनस्तर हेर्दा वहाँहरुबाट सहजरुपमा प्रविधियुक्त सिकाइका लागि आवश्यक सामग्री व्यवस्थापनमा कठिनाई हुने देखिन्छ । यहि भएर होला शैक्षिक सत्र कसरी सम्पन्न हुन्छ र कहिले बाट पठनपाठन शुरु हुन्छ भनेर अन्यौलता कायम रहे पनि यो विषयमा सरोकारवालाहरुबाट खासै धेरै चिन्तन मनन र अध्ययन अनुसन्धान भएको छैन ।

बाटोघाटो, पुलपुलेसा, कुलो, पैनी, नहर आदिमा अवरोध आउँदा सबैको ध्यान त्यता जाँदो रहेछ किनकि यसको असर तत्काल देखिँदो रहेछ । तर विद्यालयहरु बन्द भए पनि नियमित सञ्चालनमा कठिनाइ भए पनि यसको असर भविश्यमा मात्र देखिने हुँदा यसमा खास चिन्ता र चासो नभएको सहज अनुमान गर्न सकिन्छ ।

विद्यार्थीहरुलाई असफल हुनु पर्छ कि भन्ने मात्र चिन्ता । अर्थात् एउटा तह पार गरेर अर्को तहमा प्रवेश गर्न पाए खुशी हुने । पढेर होस् या नपढि । बस कक्षोन्नती भए पुग्ने । हुनतः विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरु बाल्यकालमै हुने हुँदा उनीहरुलाई निरन्तर सिकाइ र गुणस्तरीय सिकाइको चिन्ता नहुनु अस्वभाविक हैन होला । खेल्ने उमेरका बालबालिका विद्यालय छुट्टी हुँदा नै खुशी हुने गर्दछन् ।

खास अभिभावकहरुलाई धेरै चिन्ता र चासो हुनु पर्ने हो । चिन्ता नै नभएको वा चासो नै नदिएको भनेर पनि भन्न त नमिल्ला । तथापि वहाँहरुबाट पनि खास पहल कदमी हुन भने सकेको देखिँदैन । सायद नेपालमा पछिल्लो समयमा प्राप्त भएको सिकाइ उपलब्धी, यसको सान्दर्भिकता र उच्च बेरोजगारी दरका कारण  होला वहाँहरुमा पनि खास चासो कम हुँदै गएको । पढेर पनि के काम ? यसले जीवननिर्वाहमा खास काम गर्न सकेको छैन । पैशा कमाउनका लागि विदेश नै जाने हो वा काम नगरी सुख नै छैन, भन्ने मनोविज्ञानले सायद काम गरेको भान हुन थालेको छ ।

अभिभावकहरुलाई समेत उचित सुझाब, सल्लाह र परामर्ष दिएर विद्यार्थीहरुलाई सिकाइप्रति आकर्षित गराई व्यवहारिक दक्षता हासिल गर्न मार्गनिर्देश गर्ने विशेष जिम्मेवारी बोकेका शिक्षकहरु, जसलाई लोकले गुरुको दर्जा दिन्छ, बाट यो विषम परिस्थितिमा विकल्प का लागि सबैको अपेक्षा हुनु स्वभाविक हो । तर शिक्षकहरुबाट पनि अपेक्षाकृत सहजीकरण हुन सकेको छैन । पदिय हैसियत अनुसारको जिम्मेवारी हरेक राष्ट्रसेवकको कर्तव्य हो, चाहे सहज परिस्थिति होस् या असहज । सहज परिस्थितिमा सेवा प्रदान गर्न सहज होला तर असहज परिस्थितिममा जटिल भए पनि, असहज भए पनि असंभव भन्ने चैं पक्कै हुँदैन । तर यसका लागि काम प्रतिको निष्ठा, लगाव र मेहनत आवश्यक पर्दछ ।

महामारीको समयमा भए गरेको सिकाइ सहजीकरणका कार्यकलापको निष्पक्ष अवलोकन गर्दा पक्कै पनि शिक्षकहरुबाट जति जिम्मेवारी पूरा हुनुपर्थ्यो त्यति नभएकै हो भन्नु अत्युक्ति नहोला ।

सिकाइ सहजीकरण उपयुक्त वातावरण निर्माण नगरी संभव छैन र उक्त वातावरण निर्माण शिक्षक एक्लैले गर्न सक्दैनन् । झट्ट हेर्दा लाग्दो हो शिक्षकहरुले चाहे गर्न सक्छन् । तर केहि गर्न सके पनि अन्य पक्षको साथ र सहयोग विना सबै कार्य शिक्षकले एक्लै गर्न सक्दैनन् । वातावरण निर्माण पश्चात् पनि शिक्षकबाट तोकिएको काम भएन भने बल्ल शिक्षकमाथि प्रश्न तेर्स्याउन मिल्ला । त्यसैले शिक्षकले केहि गरेनन् । बसीबसी तलवमात्र खाए । भनेर भन्नु पूर्व शिक्षक कार्यरत विद्यालयमा सिकाइ वातावरण निर्माणका लागि के कस्तो वातावरण छ भनेर हेर्नु उपयुक्त होला ।

सिकाइलाई सहज सरल र उदेश्योन्मुख बनाउनका लागि आधुनिक प्रविधिमा आधारित सिकाइ वातावरण उपयुक्त हुने भएकाले विकल्पका रुपमा डिजिटल सिकाइलाई जोड दिन खोजिएको हो । यदि डिजिटल पद्धतिमा जानका लागि कठिनाइ हुन्छ भने या असंभव नै हुन्छ भने पनि अन्य विकल्पहरु प्रयोगमा ल्याउन नसकिने होइन । यस्तो अवस्थामा टोल शिक्षा उपयोगी हुन सकिन्छ । स्वास्थ्य सावधानी अपनाएर सीमित विद्यार्थीको उपस्थितिमा निश्चित सिकाइ केन्द्रमा सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्न सकिन्छ । विद्यार्थीहरुलाई सिकाइ सामग्री निर्माण गरेर अभ्यास गराउन सकिन्छ । यस तर्फ विद्यालयहरुले विलम्ब नगरी कार्य गर्नु पर्दछ ।

सबैलाई भर्चुअल माध्यम संभव हुँदैन भनेर निचोड निकाल्नु पूर्व वास्तविकरुपमा विद्यार्थीको अध्ययन गरी तथ्यगतरुपमा विवरण लिन र उनीहरुलाई पनि कसरी यो माध्यममा क्रमशः जोड्न सकिन्छ भन्ने विषयमा विद्यालयहरु संवेदनशील हुनु पर्दछ ।

नेपाल सरकारले घोषणा गरेका CUG लगायतका कार्यक्रमको सदुपयोग गर्नका लागि विद्यालयहरुले तदारुकता देखाउनु पर्दछ । विद्यालयको नियमन र नियन्त्रण गर्ने तालुकदार निकायले स्थानीय सरकारलाई पूर्वाधार विकासका लागि योजना निर्माण गरी कार्यान्वयन गराउनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न सकेमा विषम परिस्थितिमा पनि क्रमशः सिकाइलाई निरन्तरता दिन खास कठिनाई हुँदैन ।

कोभिड महामारीको यो विषम परिस्थितिमा वैकल्पिक विधि प्रयोग गरेर निरन्तर सिकाइ सञ्चालनका लागि कुनै एक पक्षबाट मात्र संभव नहुने हुँदा सबै सरोकारवाला पक्षा वीच सहयोग र समन्वय हुनु जरुरी छ । सबैको ध्यान जाओस् ।

(गोविन्द भट्टराई, शिक्षक, होरालो)

 

 

  

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget